संवाददाता , एस पि सिंह
रौतहट १३ मंसिर रौतहट जिल्लाको क्षेत्र नं. २ अन्तर्गत ईशनाथ नगरपालिका–५ जॊकहा मोतिपुर टोलस्थित हिन्दू अल्पसंख्यक बस्तीका व्यक्तिमाथि वैवाहिक पूजाअर्चनाको क्रममा आक्रमण भएको छ।
ब्रहमस्थानमा पूजा गर्न जाँदै गरेका गंगाराम तुरहाका नातिनी तथा नवलकिशोरकी छोरी निभा कुमारीको परिवारमाथि केही व्यक्तिहरूले बाटोमै रोकेर कुटपिट गरेको पीडित पक्षले जनाए। घटनाक्रमकै बीचमा महिलामाथि घरभित्र पसेर अभद्र व्यवहार गरिएको आरोप पनि उठेको हो ।
स्थानीय अनुसार गाउँमा रहेको ब्रहम बाबा मन्दिरमा वैवाहिक तथा शुभकार्य सुरु गर्नु अघि पूजा गर्ने परम्परा रहँदै आएको हो । सोही परम्परा अनुसार पूजा गर्न निस्किएको परिवारमाथि भएको आक्रमणले अहिले सिङ्गो बस्तीमा त्रास, असुरक्षा र तनावको वातावरण फैलिएको हो ।
यद्यपि संविधानले सबै धर्म, संस्कृति र समुदायको पहिचान एवं अभ्यासको सम्मान गर्ने अधिकार प्रदान गरे पनि, हिन्दू समुदाय अल्पसंख्यक रहेको कारण पटक–पटक यस्ता घटना भइरहने स्थानीयवासीको आरोप छ।
घटनापछि क्षेत्रीय संघीय सांसद किरण कुमार साहले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।उनले भने, “धर्म, संस्कृति र मानवअधिकारमाथि आक्रमण गर्ने जो–कोहीलाई कडाभन्दा कडा कारबाही गर्न राज्य बाध्य हुनेछ। सामाजिक सद्भाव बिगार्नेहरू दण्डाबाट बच्न सक्दैनन्।
आक्रमणमा घाइते भएका व्यक्तिहरूलाई अहिले प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।
उक्त घटना सम्बन्धी दोषी खोजी तथा विस्तृत छानबिन जारी रहेको प्रहरीले जनाए ।
