जनकपुरधाम ।असोज -२९ ।श्रीकान्त गुप्ता – मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनार (सोनल) मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
सोनलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलको समर्थनमा बहुमतका आधारमा सरकार गठनको दाबी पेश गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले दाबी स्वीकृत गर्दै उनलाई औपचारिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको हो।
सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)को समर्थन प्राप्त छ। यी पाँच दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनका आधारमा सोनल मुख्यमन्त्री बनेका हुन्।
यसअघि सतिश कुमार सिंहको राजीनामापछि मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।
