जनकपुरधाम, असार ३१ —श्रीकान्त गुप्ता – मधेस प्रदेशमा दिन प्रतिदिन चर्किंदै गएको खानेपानीको समस्याबारे संघीय सरकार र मधेस प्रदेश सरकार गम्भीर बनेका छन्। यही विषयलाई लिएर मंगलबार संघीय खानेपानी मन्त्री र प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहबीच विशेष छलफल सम्पन्न भएको छ।
जनकपुरस्थित प्रदेश सरकारको सचिवालयमा भएको बैठकमा दुवै पक्षले खानेपानी संकट समाधानका लागि संयुक्त रणनीति निर्माण गर्ने सहमति जनाएका छन्। छलफलमा मुख्यमन्त्री सिंहले खानेपानीको समस्या अब टालटुल समाधानले सम्भव नभएको स्पष्ट पार्दै यसलाई ‘संघीय–प्रदेश संयुक्त अभियान’को रूपमा अघि बढाइने बताए।
“संघीय र प्रदेश सरकारका संयन्त्रहरु एकीकृत रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्य गर्न हामी कटिबद्ध छौं,” मुख्यमन्त्री सिंहले भने, “प्रदेशमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी दीर्घकालीन समाधानतर्फ सरकार अघि बढ्नेछ।”
संघीय मन्त्रीले पनि प्रदेशको गम्भीर संकटलाई बुझ्दै संघीय सरकारबाट आवश्यक सहयोग तथा स्रोतको सुनिश्चितता गरिने बताएका छन्। छलफलमा सहभागी दुबै सरकारका प्रतिनिधिहरूले विशेष गरी खडेरी प्रभावित जिल्लाहरू—सर्लाही, महोत्तरी, धनुषा, रौतहट, पर्सा बारा लगायतका क्षेत्रमा तत्काल राहतस्वरूप पानी आपूर्तिका वैकल्पिक व्यवस्था मिलाउने सहमति पनि जनाएका छन्।
योजना अनुसार सशर्त खानेपानी योजनाहरूलाई प्राथमिकता दिई कार्यान्वयनको चरणमा लैजाने र दीर्घकालीन पूर्वाधार विकास योजनाहरूमा संघीय सहकार्य रहने बताइएको छ।
खानेपानी संकट केवल मधेस प्रदेशको मात्रै होइन, सम्पूर्ण मुलुककै चिन्ताको विषय हो। यो समस्याको समाधानका लागि प्रदेश र संघीय सरकार मिलेर निर्णायक कदम चाल्नेछ।”
प्रदेशमा बढ्दो तापक्रम, वर्षा अभाव र सुक्खाग्रस्त अवस्थाका कारण अधिकांश स्थानमा खानेपानीको हाहाकार रहेको छ। स्थानीय निकायले समेत खानेपानी ट्यांकर र बोरिङको माध्यमबाट अस्थायी राहत दिइरहेका छन्, तर यो दीर्घकालीन समाधान होइन भन्ने धारणा मुख्यमन्त्री सिंहको छ।
ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयका अधिकारीहरू, संघीय खानेपानी मन्त्रालयका प्रतिनिधिहरू समेत सहभागी थिए। आगामी दिनमा प्रदेशका प्रत्येक जिल्लामा खानेपानी आपूर्तिको स्थिति मूल्यांकन गरी तत्काल कार्य योजना लागू गरिने जानकारी दिइएको छ।



