बारा, माघ २६ –श्रीकान्त गुप्ता- दस दिनदेखि बेपत्ता रहेका रौतहटका ३ वर्षीय बालक हन्श चौधरीको शव टेढा खोलामा फेला परेको छ। सुरुदेखि नै प्रहरीको खोजी कार्यमा सुस्तता देखिएको भन्दै परिवार र स्थानीयवासी आक्रोशित बनेका छन्।
रौतहटको दुर्गा भवानी गाउँपालिका–१ निवासी बालक माघ १६ गते जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित मामाघरबाट बेपत्ता भएका थिए। परिवारले तत्काल प्रहरीलाई जानकारी गराए पनि खोजी कार्यमा ढिलाइ भएको गुनासो छ। हराएको दिनदेखि नै प्रहरीलाई दबाब दिइए पनि आवश्यक खोजी संयन्त्र तुरुन्तै परिचालन गरिएन।
बेपत्ताको दसौँ दिनमा मात्र शव फेला परेको घटनाले प्रहरीले गरेको अनुसन्धानप्रति प्रश्नचिह्न उठाएको छ। परिवारले आफ्नै पहलमा बालकको खोजी गर्नुपरेको र जानकारी दिनेलाई एक लाख रुपैयाँ इनामसम्म घोषणा गर्नुपरेको स्थिति रह्यो। यसबाहेक, बारा क्षेत्र नं. ४ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले पनि ५१ हजार रुपैयाँको इनाम घोषणा गरेका थिए। प्रहरीको कार्यशैली प्रभावकारी भएको भए यस्तो अवस्थामा पुग्नुपर्ने थिएन भन्ने स्थानीयहरूको गुनासो छ।
घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले बालकको मृत्यु पानीमा डुबेर भएको हुनसक्ने बताएको छ। तर, परिवार र स्थानीयवासीले घटना शंकास्पद रहेको र थप गहिरो अनुसन्धान आवश्यक पर्ने माग राखेका छन्। शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ।
यस घटनाले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। हराएको पहिलो दिनदेखि नै प्रभावकारी खोजी गरिएको भए सानो बालकको ज्यान बचाउन सकिन्थ्यो कि भन्ने प्रश्न उठेको छ। प्रहरीको ढिलाइले अपराधीलाई उम्किन सहज हुने त होइन भन्ने आशंका समेत जन्माएको छ। अबको अनुसन्धान पारदर्शी र निष्पक्ष हुन आवश्यक छ ताकि भविष्यमा यस्ता घटनाले दोहोरिने अवसर नपाओस्।
