बारा माघ १२ । बारागढी गाउँपालिकाको खोपवामा जिल्ला हुलाक कार्यालय बाराले शनिबार नयाँ शाखा कार्यालय स्थापना गरेको छ। शाखा कार्यालयको उद्घाटन बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र उपाध्यक्ष लक्ष्मी देवी रायले एक औपचारिक कार्यक्रममा संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहमा जिल्ला हुलाक कार्यालयका कर्मचारी, बारागढी गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, र स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शाखा कार्यालयको स्थापनाले स्थानीयवासीलाई डाक सेवा लगायतका हुलाक सम्बन्धी सेवा लिन सहज हुने विश्वास व्यक्त गरिएको थियो।
नेपाल सरकारको सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित हुलाक कार्यालयले सेवा विस्तार गर्ने उद्देश्यले बारागढीमा शाखा स्थापना गरेको हो। शाखा कार्यालय स्थापनापछि गाउँपालिकाका नागरिकहरूले डाक सेवा प्राप्त गर्न टाढा धाउनुपर्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष जयसवालले शाखा कार्यालय स्थापनाको स्वागत गर्दै यो ग्रामीण भेगमा सेवा प्रवाहको नयाँ कदम भएको उल्लेख गरे। त्यस्तै, उपाध्यक्ष रायले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा हुलाक कार्यालयको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
स्थानीय भद्रभलाद्मीहरूले हुलाक सेवा गाउँमै उपलब्ध गराउने प्रयासको सराहना गर्दै शाखा कार्यालयको दिगो सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नयाँ शाखा कार्यालय स्थापना भएपछि, पत्राचार, पार्सल सेवा र सरकारी सूचना प्रवाह जस्ता सेवा स्थानीय स्तरमै उपलब्ध हुनेछ। यस कदमले डिजिटल पहुँच अभाव रहेका ग्रामीण भेगमा सञ्चार माध्यमलाई सहज बनाउने अपेक्षा गरिएको छ।



