बारा वैशाख १० । अठोट र निरन्तर संघर्ष भए भूगोल, गरिबी वा सामाजिक संरचनाले कसैको सफलता रोक्दैन भन्ने उदाहरण बनेकी छिन्, बारा जिल्लाको कलैया उपमहानगरपालिका–१०, मटियर्वाकी प्रीति कुमारी शाह
सामान्य किसान परिवारमा हुर्किएकी प्रीति नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) द्वारा सञ्चालित कठिन अधिवक्ताको परीक्षा उत्तीर्ण गर्दै जिल्लाकै कानुनी इतिहासमा पहिलो महिला अधिवक्ता बन्न सफल भएकी हुन् । मटियर्वा गाउँबाट मात्र नभई समग्र बारा जिल्लाबाट कानुन व्यवसायमा प्रवेश गर्ने उनी पहिलो महिला हुन् ।
सरकारी विद्यालयदेखि बार काउन्सिलसम्म
किसान तथा निजी विद्यालयका शिक्षक महेश सिंह शाहकी सुपुत्री प्रीतिले आफ्नो पढाइ गाउँकै सरकारी विद्यालयबाट सुरु गरेकी थिइन् । मधेशी समुदायमा छोरीलाई उच्च शिक्षा र व्यावसायिक क्षेत्रमा पठाउन अझै चुनौतीपूर्ण मानिने परिवेशबीच उनले आर्थिक र सामाजिक अवरोध पार गर्दै अध्ययनलाई निरन्तरता दिइन् ।
कानुन अध्ययन गर्नुअघि नै उनले अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरी ‘डबल मास्टर डिग्री’ हासिल गरेकी थिइन् । समाजमा न्यायको खाँचो देखेपछि कानुन संकायमा स्नातक (एलएलबी) अध्ययन पूरा गरेकी प्रीतिले लामो मिहिनेतपछि बार काउन्सिलको परीक्षा उत्तीर्ण गरी अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी हुन् ।
स्थानीयमा उत्साह, बालिकाका लागि प्रेरणा
प्रीतिको सफलताले मटियर्वासँगै सिंगो बारा जिल्लामा खुसी छाएको छ । “छोरीहरूले पढ्नुपर्छ भन्ने चेतना बढ्दै छ, तर कानुनजस्तो चुनौतीपूर्ण क्षेत्रमा पुगेर प्रीतिले जिल्लाकै शिर उच्च बनाएकी छिन्,” स्थानीय रामबाबु यादवले भने, “उनले मधेशका हजारौं बालिकालाई सपना देख्ने र पूरा गर्ने बाटो देखाइदिएकी छिन् ।”
लक्ष्य: महिला हिंसाविरुद्ध र निःशुल्क कानुनी सहायता*
सफलताको श्रेय बुबाको मार्गनिर्देशन र परिवारको साथलाई दिँदै अधिवक्ता शाहले अबको यात्रा सामाजिक न्यायमा केन्द्रित गर्ने बताइन् ।
“मेरो उद्देश्य अदालतमा बहस गर्नु मात्र होइन,” उनले भनिन्, “महिला हिंसाविरुद्ध, महिला अधिकारको रक्षा र न्यायमा पहुँच नभएका ग्रामीण दिदीबहिनी-दाजुभाइका लागि निःशुल्क कानुनी सहायता पुर्याउन काम गर्नेछु ।”
रास्वपा सांसदको सचिवालयमा विज्ञ नियुक्त
यसैबीच, कानुनी सहायता तथा परामर्शलाई प्रभावकारी बनाउन अधिवक्ता शाहलाई बारा क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर अरविन्द साहको सचिवालयमा कानुनी विज्ञका रूपमा नियुक्त गरिएको छ । सचिवालयले कानुनी राज्य र सामाजिक न्याय स्थापनाका लागि उनको भूमिका महत्वपूर्ण हुने भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ ।
सामान्य किसान परिवारकी छोरीले शैक्षिक र व्यावसायिक क्षेत्रमा स्थापित गरेको यो कीर्तिमानले बाराको सामाजिक रूपान्तरण र शैक्षिक विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।





