1समाचार अभियनविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारसमाचार अभियन · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

विद्यालयका समस्या समेटेर मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठी

विद्यालयका समस्या समेटेर मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठी
जनकपुरधाम असोज १६ ।मधेश प्रदेशका बालबालिकाले विद्यालयमा आफूहरूले भोग्दै आएका समस्या समेटेर मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई चिठीसहितको पेटिका बुझाएका छन् । विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे बालबालिकाले उठाएका समस्या र माग समेटिएको चिठीको पेटिका मुख्यमन्त्री यादवलाई हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशको आयोजनामा आयोजित ‘बालबालिकाको चिठी हस्तान्तरण एवं मधेशका विद्यालय शिक्षाको अवस्था’ विषयक कार्यक्रममा बालबालिकाका तर्फबाट युथ फर चेन्जकी अध्यक्ष प्रतिमा पौडेलले मुख्यमन्त्री यादवलाई चिठीसहितको पेटिका हस्तान्तरण गरेकी हुन् ।

बालबालिकाले विभिन्न विद्यालयमा आफूहरूले भोग्दै आएका समस्या चिठीमार्फत सरकारसमक्ष राखेका छन् । उनीहरूले विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा रहेको, पर्याप्त शैक्षिक सामग्री उपलब्ध नभएको तथा सबै विषयका पुस्तक प्राप्त नहुँदै परीक्षा दिनुपर्ने बाध्यता रहेको बताएका छन् ।

त्यस्तै, कक्षा ६ भन्दा माथिका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था नहुँदा विद्यालयमा नियमित अध्ययन गर्ने विद्यार्थी प्रभावित भइरहेको विषय पनि बालबालिकाले उठाएका छन् । विद्यालयका भवन तथा संरचना अपांगतामैत्री नहुँदा अपांगता भएका विद्यार्थीलाई विद्यालयको सेवा तथा सुविधामा सहज पहुँच हुन नसकेको उनीहरूको गुनासो छ ।

बालबालिकाले विद्यालयमा पुस्तकालय तथा प्रयोगशाला (ल्याब) को पर्याप्त व्यवस्था नहुँदा अध्ययन र प्रयोगात्मक सिकाइ प्रभावित भइरहेको उल्लेख गरेका छन् । विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सामग्री, पोषण तथा समावेशी शिक्षासँग सम्बन्धित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले चिठी संकलन गरिएको जनाइएको छ ।

कार्यक्रममा बालबालिकाले विद्यालय शिक्षासँग प्रत्यक्ष जोडिएका आफ्ना समस्या सरकारसमक्ष राख्दै शिक्षा क्षेत्रमा सुधारका लागि बालमैत्री नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।
चिठीसहितको पेटिका बुझ्दै मुख्यमन्त्री यादवले बालबालिकाले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । विद्यालयमा आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री र सिकाइको वातावरण निर्माण गर्नु राज्यको जिम्मेवारी भएकाले बालबालिकाबाट प्राप्त सुझाव तथा गुनासालाई सम्बन्धित निकायमार्फत सम्बोधन गर्ने प्रयास गरिने बताइएको छ ।

कार्यक्रममा मधेश प्रदेशका विद्यालय शिक्षाको वर्तमान अवस्था, बालबालिकाले भोगिरहेका समस्या तथा शिक्षा सुधारका सम्भावित उपायबारे समेत छलफल गरिएको थियो । बालबालिकाको आवाजलाई नीति निर्माण र शिक्षा क्षेत्रको सुधारसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने सहभागीहरूको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार