रौतहट । कार्तिक २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशमा नेकपा एमालेसँग गठबन्धन गरेर सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले भेटवार्ता गरेपछि सत्ता समीकरणमा नयाँ गठबन्धन बन्न लागेको चर्चा भइरहेका बेला पार्टीले यस्तो धारणा सार्वजनिक गरेको हो।
जसपा नेपालले एमालेसँग सहकार्य गरेर मधेश प्रदेश सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म कुनै निर्णय, नीतिगत सहमति वा समझदारी नभएको जनाएको छ। अध्यक्ष यादवको सचिवालयले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै एमालेसँग तत्काल सत्ता सहकार्यको सम्भावनासमेत नरहेको उल्लेख गरेको छ।
मधेश प्रदेशमा नेकपा एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार राजनीतिक संकटमा परेको छ। सरकारको प्रमुख सहयोगी दल एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशमा नयाँ सत्ता समीकरणको सम्भावनाबारे विभिन्न राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
सचिवालयले जसपा नेपालले एमालेसँग सरकारमा सहभागी हुने विषयमा कुनै निर्णय नगरेको र कसैसँग त्यस्तो समझदारी पनि नभएको दोहोर्याएको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्पष्टीकरणमा पार्टीले अहिलेसम्म प्रदेश सरकार गठनका लागि कुनै दाबी प्रस्तुत नगरेको तथा अन्य दलसँग समर्थनसमेत नमागेको उल्लेख छ।
त्यस्तै, कुनै दलले समर्थन दिने वा नदिने विषयमा पनि जसपा नेपालले सम्झौता नगरेको सचिवालयको भनाइ छ। राजनीतिक भेटघाटलाई सत्ता साझेदारीको निर्णयका रूपमा प्रचार गरिनु उचित नभएको संकेत गर्दै सचिवालयले भ्रमपूर्ण प्रचारप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ।
एमालेको समर्थन फिर्तापछि मधेश प्रदेश सरकारको राजनीतिक भविष्यबारे अन्योल बढिरहेका बेला जसपा नेपालको यो स्पष्टीकरणले तत्काल एमालेसँग गठबन्धन बन्ने चर्चालाई खण्डन गरेको छ। यद्यपि, प्रदेशमा सरकारलाई निरन्तरता दिने वा नयाँ सत्ता समीकरण बनाउने विषयमा आगामी दिनमा दलहरूबीच हुने राजनीतिक गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।




हावाहुरीले पाँच बिघाको उखुबाली ढल्यो, किसानको लगानी जोखिममा
चोलेन्द्र जबरालाई भेट्न रोकिएको घटनामा प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको माग
दु:ख घडीमा करिब साढे ३ करोडको गाडी खरिदका लागि मधेश सरकारको तयारी
सर्लाहीको सदरमुकाम मलंगवा जलमग्न, अविरल वर्षाले जनजीवन प्रभावित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणी