1समाचार अभियनविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारसमाचार अभियन · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

महेन्द्र राजमार्ग विस्तारमा ढिलाइ, ६८ प्रतिशत समय बित्दा ३० प्रतिशत मात्रै काम

महेन्द्र राजमार्ग विस्तारमा ढिलाइ, ६८ प्रतिशत समय बित्दा ३० प्रतिशत मात्रै काम
रौतहट   कात्तिक २ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडक विस्तारको काम अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन। निर्माण सम्पन्न गर्न तोकिएको तीनवर्षे अवधिको ६८ प्रतिशत समय बितिसक्दा भौतिक प्रगति भने ३० प्रतिशतमा सीमित भएपछि निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा आशंका बढेको छ।

धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडकलाई तीन वर्षभित्र विस्तार गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको थियो। बजार क्षेत्रमा छ लेन र अन्य स्थानमा चार लेनको सडक निर्माण गर्ने योजनासहित तीन खण्डमा ठेक्का लगाइएको भए पनि निर्माणको गति सुस्त हुँदा समयमै काम सक्ने सम्भावना कमजोर बनेको हो।

निर्माणमा ढिलाइ हुनुको अर्को प्रमुख कारण विद्युत् पोल स्थानान्तरणमा देखिएको छ। नेपाल विद्युत् प्राधिकरणले करिब तीन हजार पोल हटाउनुपर्नेमा अहिलेसम्म झन्डै एक हजार पाँच सय पोल मात्रै स्थानान्तरण गरेको छ। यसले सडक विस्तारको काम प्रभावित भएको आयोजनाको भनाइ छ।

यसैबीच, बिहीबार निर्माणस्थलको निरीक्षणमा पुगेका प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले दुई महिनाको अवधिमा उल्लेखनीय प्रगति नदेखिएको बताउनुभयो। साउनको अन्तिम साता र असोजको अन्तिम साताबीच जम्मा तीन प्रतिशत मात्रै प्रगति भएको उहाँको भनाइ छ। ढिलाइले यात्रु तथा स्थानीय बासिन्दाले थप सास्ती बेहोर्नुपर्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो।

प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले पनि विद्युत् पोल स्थानान्तरणलगायतका समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो।

निर्माण व्यवसायीले भने माटोको अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि, कामदारको कमी, रुख कटानमा ढिलाइ र विद्युत् पोल नसारिएको जस्ता कारण देखाउँदै आएका छन्। सरकारी नीतिगत सहजीकरणका प्रयास हुँदासमेत कामले गति लिन नसक्दा राजमार्ग विस्तारको समयसीमा र लागत व्यवस्थापनमा चुनौती थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार