1समाचार अभियनविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारसमाचार अभियन · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

तीन वर्ष नपुग्दै बाराको पूर्वाधार विकास कार्यालयमा १० प्रमुख फेरिए, सरुवामाथि प्रश्न

तीन वर्ष नपुग्दै बाराको पूर्वाधार विकास कार्यालयमा १० प्रमुख फेरिए, सरुवामाथि प्रश्न
जनकपुर असोज १५ ।   मधेश प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालय, बारामा स्थापनाको तीन वर्ष नपुग्दै १० जना कार्यालय प्रमुख फेरिएका छन्। छोटो अवधिमै पटक–पटक कार्यालय प्रमुख परिवर्तन हुँदा कार्यालयको प्रशासनिक निरन्तरता र विकास निर्माणका काम प्रभावित हुनसक्ने भन्दै सरुवा प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ।

कलैयामा २०८० भदौ २० गते पूर्वाधार विकास कार्यालय स्थापना हुँदा राजेन्द्र साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो। करिब एक वर्ष तीन महिना १५ दिनपछि उनको सरुवा भयो। त्यसपछि कार्यालय प्रमुख परिवर्तनको क्रम तीव्र बनेको देखिन्छ।
२०८१ फागुन ४ गते ओमकुमार साह कार्यालय प्रमुखका रूपमा हाजिर भएका थिए। तर, १५ दिन नबित्दै फागुन २१ गते उनलाई सरुवा गरी पुनः राजेन्द्र साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो। त्यसपछि साहमाथि नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्का प्रक्रियामा १ करोड ८४ लाख ३८ हजार ४ सय ५८ रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परे।

साह निलम्बनमा परेपछि २०८२ जेठ ४ गते रिम्पुकुमारी यादवलाई निमित्त कार्यालय प्रमुख बनाइएको थियो। तर, करिब चार महिनामै उनलाई सरुवा गरी सञ्जयकुमार यादवलाई जिम्मेवारी दिइयो। सञ्जयकुमार यादव पनि २१ दिनमै सरुवा भएपछि २०८२ कात्तिक २ गते पुनः ओमकुमार साहलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइयो।

साहले करिब ६ महिना जिम्मेवारी सम्हालेपछि २०८२ चैत १० गते पुनः नेतृत्व परिवर्तन भयो। यसैबीच राजेन्द्र साह अदालतबाट सफाइ पाएपछि उनलाई फेरि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो। तर, २० दिन नबित्दै संघीय सरकारको अन्तरप्रदेश सरुवाका कारण उनको स्थानमा २०८३ वैशाख २२ गते हेमन्तलाई जिम्मेवारी दिइयो।

हेमन्तले कार्यालयको जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लिखित जानकारी गराएपछि २०८३ जेठ २५ गते पुनः ओमकुमार साहलाई जिम्मेवारी दिइएको थियो। आर्थिक वर्षको अन्तिम समयमा कार्यालयमा हाजिर भएका साहले विकास निर्माणका काम अघि बढाए पनि लामो समय जिम्मेवारीमा रहन पाएनन्।

पछिल्लोपटक मन्त्रालयले निमित्त प्रदेश सचिवका रूपमा कार्यरत सञ्जयप्रसाद साहलाई बाराको पूर्वाधार विकास कार्यालयमा पठाउने निर्णय गरेको छ। प्रदेश सरकारको भदौ २५ गतेको निर्णयअनुसार उनलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो।

लगातार हुने नेतृत्व परिवर्तनले कार्यालयको योजना छनोट, ठेक्का व्यवस्थापन, अनुगमन, भुक्तानी तथा विकास आयोजनाको कार्यान्वयनमा असर पर्न सक्ने कर्मचारी तथा सरोकारवालाको भनाइ छ। राजनीतिक वा प्रशासनिक स्वार्थअनुकूल सरुवा हुने गरेको आरोप लाग्दै आए पनि सम्बन्धित मन्त्रालयले भने सरुवाको स्पष्ट कारण सार्वजनिक गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार