जनकपुरधाम, असोज २० । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। स्थानीय विनोद दासकी पत्नी प्रियंका दास आइतबार साँझ आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ६ः५० बजे प्रियंकालाई कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो। घटनापछि उनका श्रीमान् विनोद दासले पासो खोली शवलाई ओछ्यानमा राखेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घटनाको सूचना प्राप्त भएपछि कपिलेश्वर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले घटनास्थल तथा घटनासँग सम्बन्धित पक्षबारे प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।
यता, मृतकका आफन्त तथा स्थानीयवासीले भने प्रियंकाको मृत्यु आत्महत्या नभई हत्या भएको आशंका गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित अबेर रातिसम्म प्रहरी प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।
स्थानीयको विरोधका कारण घटनास्थलको मुचुल्का उठाउने तथा शव परीक्षणका लागि पठाउने प्रक्रिया प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनामा श्रीमान्को भूमिका शंकास्पद रहेको भन्दै प्रहरीले विनोद दासलाई प्रारम्भिक सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
धनुषा प्रहरीले सोमबार घटनास्थलको मुचुल्का उठाई मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ। पोस्टमार्टम तथा घटनास्थलबाट संकलन हुने प्रमाणका आधारमा मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।
प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। मृतकका परिवार, आफन्त तथा स्थानीयवासीसँग समेत आवश्यक जानकारी लिइरहेको प्रहरीले बताएको छ।
प्रियंकाको मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्ट, घटनास्थलको मुचुल्का र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




हावाहुरीले पाँच बिघाको उखुबाली ढल्यो, किसानको लगानी जोखिममा
चोलेन्द्र जबरालाई भेट्न रोकिएको घटनामा प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको माग
दु:ख घडीमा करिब साढे ३ करोडको गाडी खरिदका लागि मधेश सरकारको तयारी
सर्लाहीको सदरमुकाम मलंगवा जलमग्न, अविरल वर्षाले जनजीवन प्रभावित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणी