जनकपुरधाम । नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ नजिकिएसँगै जनकपुरधाममा चहलपहल बढेको छ। नगरभित्रका मन्दिरहरू आकर्षक ढंगले सिँगारिएका छन् भने चाडपर्वको रौनक पनि देखिन थालेको छ। तर, मधेस प्रदेशको प्रमुख व्यापारिक केन्द्र जनकपुरधामका बजारमा भने अपेक्षाअनुसार व्यापार हुन सकेको छैन। चाडपर्वलाई लक्षित गरी नयाँ सामान भित्र्याएका व्यवसायी ग्राहकको अभावमा चिन्तित बनेका छन्।
जनकचोक, शिवचोक, रामानन्दचोक, पिडारीचोक, भानुचोक, पुलचोक र मुरलीचोकलगायत मुख्य व्यापारिक क्षेत्रमा दसैँको समयमा ग्राहकको भीड लाग्नुपर्ने हो। तर, कपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्सलगायतका पसलमा अपेक्षित चहलपहल देखिएको छैन। कतिपय व्यवसायीलाई दिनभरि पसल खोलेर बस्दा पनि बोहनी गर्न मुस्किल परेको छ।
जनकचोकमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले दसैँका लागि नयाँ सामान मगाए पनि बिक्री हुन नसकेको गुनासो गरे। ‘चाडपर्वमा पनि व्यापार छैन। दिनभरि पसलमा बस्छु, तर बोहनीसमेत हुँदैन,’ उनले भने, ‘नयाँ सामान बिक्री नभएर स्टक थन्किने हो कि भन्ने चिन्ता लागेको छ।’
पिडारीचोकमा कपडा पसल सञ्चालन गर्दै आएका परमेश्वर सहनीका अनुसार विगतका वर्षमा दसैँ आउनुभन्दा एक महिनाअघिदेखि नै व्यापार बढ्ने गर्थ्यो। तर, यस वर्ष कारोबार निकै कमजोर भएको उनले बताए। बिक्री घटे पनि घरभाडा, कर्मचारीको तलब, विद्युत् महसुललगायतका खर्च नियमित रूपमा तिर्नुपर्ने बाध्यताले व्यवसायीमाथि आर्थिक दबाब बढेको उनको भनाइ छ।
व्यवसायीहरूले जनकपुरधामको व्यापार घट्नुमा भारतीय सीमावर्ती बजार र सस्ता बजारको आकर्षणलाई पनि प्रमुख कारण मानेका छन्। सस्तो मूल्यमा सामान पाइने आशामा उपभोक्ता सीमापारिका बजार तथा गोपाल धर्मशालामा लाग्ने सस्ता बजारतर्फ आकर्षित हुँदा स्थानीय पसलको कारोबार प्रभावित भएको उनीहरूको ठम्याइ छ।
व्यवसायीहरूका अनुसार फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल र अनलाइन बजारको बढ्दो प्रभावले स्थानीय पसलको व्यापार थप प्रभावित भएको छ। सामाजिक सञ्जालमा आकर्षक तस्बिर तथा भिडियोमार्फत सामानको प्रचार गरिए पनि त्यसको वास्तविक गुणस्तर र मूल्यबारे उपभोक्ता भ्रममा पर्न सक्ने उनीहरूको गुनासो छ।
स्थानीय व्यवसायीले आफूहरूले गुणस्तरीय तथा ब्रान्डेड सामान बिक्री गर्दा मूल्य महँगो भएको भन्दै ग्राहक फर्किने गरेको बताएका छन्। सामाजिक सञ्जालमा हुने भ्रामक प्रचार, सम्भावित ठगी र राजस्व छली नियन्त्रण गर्न राज्यले प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरूको माग छ।
चाडपर्वमा समेत व्यापार नबढ्दा साना तथा मझौला व्यवसायीलाई पसल सञ्चालन गर्न कठिन भइरहेको छ। बजारमा ग्राहकको आकर्षण बढाउन र स्थानीय व्यापारलाई संरक्षण गर्न सम्बन्धित निकायले उचित पहल नगरे व्यवसायी पलायन हुने अवस्था आउन सक्ने उनीहरूले चेतावनी दिएका छन्।




हावाहुरीले पाँच बिघाको उखुबाली ढल्यो, किसानको लगानी जोखिममा
चोलेन्द्र जबरालाई भेट्न रोकिएको घटनामा प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको माग
दु:ख घडीमा करिब साढे ३ करोडको गाडी खरिदका लागि मधेश सरकारको तयारी
सर्लाहीको सदरमुकाम मलंगवा जलमग्न, अविरल वर्षाले जनजीवन प्रभावित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणी