काठमाडौँ, १८ असोज । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा बीमाअन्तर्गत स्वास्थ्य सेवा लिन १६ वर्ष उमेर पूरा गरेका नागरिकले अब राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।
स्वास्थ्य बीमा बोर्डको बैठकले आगामी पुस १ गतेदेखि नयाँ बीमा आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्थाले बीमितको वास्तविक पहिचान कायम गर्नुका साथै स्वास्थ्य बीमा प्रणालीमा देखिँदै आएका दोहोरो आबद्धता तथा विवरणसम्बन्धी समस्या न्यूनीकरण हुने बोर्डको अपेक्षा छ।
बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गमा आबद्ध सबै बीमित परिवारले स्वास्थ्य बीमा बोर्डको HIB e-Portal मार्फत आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्रमा आधारित विवरणले ‘केवाईसी’ अद्यावधिक, बीमितको पहिचान प्रमाणीकरण तथा उपचारसँग सम्बन्धित दाबी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने जनाइएको छ।
स्वास्थ्य बीमा सेवाको प्रभावकारिता बढाउने उद्देश्यले बोर्डले सेवा खरिद तथा भुक्तानी प्रणालीमा समेत सुधार गर्ने भएको छ। यसका लागि सेवा खरिदलाई वैज्ञानिक, व्यवस्थित र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको छ। कार्यदललाई ६० दिनभित्र अध्ययन पूरा गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
त्यसैगरी, इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीबाट प्राप्त हुने डिजिटल स्वास्थ्य अभिलेख तथा उपचारसम्बन्धी दाबी विवरणलाई तोकिएको मापदण्ड पूरा भएमा दाबी मान्यताका लागि प्रयोग गर्ने निर्णय पनि बोर्डले गरेको छ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सूचना व्यवस्थापन प्रणाली (IMIS) लाई थप व्यवस्थित बनाउने क्रममा पहिलो चरणमा २ हजार १८९ वटा ‘Customized ICD-11 Code’ प्रयोगमा ल्याउने निर्णय गरेको सचिवालयले जनाएको छ।
नयाँ प्रावधान कार्यान्वयनसँगै स्वास्थ्य बीमा प्रणालीमा बीमितको पहिचान, अभिलेख व्यवस्थापन र दाबी प्रक्रियालाई थप डिजिटल तथा पारदर्शी बनाउने बोर्डको लक्ष्य रहेको छ।




हावाहुरीले पाँच बिघाको उखुबाली ढल्यो, किसानको लगानी जोखिममा
चोलेन्द्र जबरालाई भेट्न रोकिएको घटनामा प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको माग
दु:ख घडीमा करिब साढे ३ करोडको गाडी खरिदका लागि मधेश सरकारको तयारी
सर्लाहीको सदरमुकाम मलंगवा जलमग्न, अविरल वर्षाले जनजीवन प्रभावित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणी