जनकपुरधाम, बैशाख ४।रानी कुमारी । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र जानकी मन्दिर पछिल्लो समय मर्मत, सरसफाइ र संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण, कुरुप र दुर्गन्धित बन्दै गएको छ। लाखौँ हिन्दु श्रद्धालुको आस्थाको केन्द्र मानिने यो मन्दिर अहिले सरकारको चरम उपेक्षाको सिकार बनेको भन्दै स्थानीयवासी, दर्शनार्थी तथा मन्दिर व्यवस्थापन पक्षले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
देशकै महत्वपूर्ण धार्मिक सम्पदामध्ये एक मानिने जानकी मन्दिरको भित्री भागमा ठाउँठाउँका भित्ताहरू फुटेका छन् भने कतिपय भागमा तल चर्किएको अवस्था देखिन्छ। मन्दिर परिसरभित्र पर्याप्त सरसफाइ नहुँदा जताततै फोहोर थुप्रिएको छ। यसले मन्दिरको सौन्दर्य मात्र बिगारेको छैन, धार्मिक स्थलको गरिमा र पवित्रतामाथि समेत प्रश्न उठाएको छ।
मन्दिर अवलोकन गर्न आउने दर्शनार्थीहरूका अनुसार मन्दिरभित्र अँध्यारोपन, फोहोर, भत्किएका संरचना र अव्यवस्थित वातावरणले उनीहरूलाई निराश बनाएको छ। “धार्मिक स्थल भनेर आउँदा शान्ति र पवित्रताको अनुभूति हुनुपर्छ, तर यहाँ त जताततै फोहोर, दुर्गन्ध र जीर्ण अवस्था मात्रै देखिन्छ,” एक दर्शनार्थीले गुनासो गरे। उनका अनुसार यति ठूलो धार्मिक धरोहरप्रति सम्बन्धित निकायको यस्तो लापरवाही लज्जास्पद हो।
स्थानीयवासीहरू भन्छन्, जानकी मन्दिर केवल जनकपुरधाम वा मधेसको मात्र चिनारी होइन, यो नेपालकै अन्तर्राष्ट्रिय धार्मिक पहिचान बोकेको सम्पदा हो। भारतसहित विभिन्न मुलुकबाट हजारौँ श्रद्धालु आउने यो स्थलको यस्तो अवस्था हुनु सरकारको असक्षमता र गैरजिम्मेवारीको प्रत्यक्ष उदाहरण भएको उनीहरूको भनाइ छ।
मन्दिरका मुख्य पुजारी महन्त राम तपेश्वर दासले स्थानीय सरकार, मधेस प्रदेश सरकार र संघीय सरकार—तीनै तहका सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले पटक–पटक मन्दिरको संरक्षण, मर्मत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै ठोस चासो नदिएको गुनासो गरे।
उनले भने, “यो मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, हाम्रो सभ्यता, संस्कृति र पहिचानको धरोहर हो। तर दुःखको कुरा, तीनै तहका सरकारलाई यसको संरक्षणप्रति कुनै जिम्मेवारीबोध देखिँदैन। हामीले बारम्बार आग्रह गर्दा पनि सुनुवाइ भएको छैन।”
धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको जानकी मन्दिरको यस्तो दयनीय अवस्था हुँदा पनि सरकार भने विकास, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणका ठूलाठूला भाषणमै सीमित देखिएको आलोचना बढ्दै गएको छ। कागजमा योजना बनाउने, बजेट भाषणमा आश्वासन दिने तर व्यवहारमा काम नगर्ने सरकारी प्रवृत्तिले यस्ता ऐतिहासिक धरोहरहरू संकटमा पर्दै गएका छन्।
विशेषगरी मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले जानकी मन्दिरजस्तो विश्वस्तरको धार्मिक सम्पदाको संरक्षणमा अग्रसरता देखाउन नसक्नु गम्भीर कमजोरीका रूपमा हेरिएको छ। संघीय सरकारले पनि पर्यटन र संस्कृति संरक्षणको नाममा बजेट छुट्याउने तर स्थलगत रूपमा काम नगर्ने पुरानै प्रवृत्ति दोहोर्याएको आरोप छ।
यदि समयमै मर्मत, सरसफाइ, प्रकाश व्यवस्थापन र संरचनागत संरक्षणको काम अघि नबढाइए जानकी मन्दिरको अवस्था अझ जर्जर बन्ने निश्चित छ। त्यसैले यो केवल मन्दिरको सौन्दर्यको विषय मात्र नभई राष्ट्रिय सम्पदा जोगाउने दायित्वको विषय भएको भन्दै स्थानीयवासीहरूले तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।
जानकी मन्दिरको यस्तो दयनीय अवस्था अब केवल समाचारको विषय होइन, सरकारको असफलताको जिउँदो प्रमाण बनेको छ।



