बारा वैशाख ४ ।श्रीकान्त गुप्ता । बाराको महागढीमाई नगरपालिका–६ स्थित डिभाइन प्लस टु विद्यालयमा कक्षा १० का SEE परीक्षार्थीहरूको बिदाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले निजी विद्यालयहरूले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै सरकारसँग समान व्यवहारको माग गरेका छन्।
प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले निजी विद्यालयलाई पनि सामुदायिक विद्यालयसरह छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले वर्तमान शिक्षा नीतिमा निजी विद्यालयको भूमिकालाई उचित रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन्, त्यसैले राज्यले पनि समान अवसर र सुविधा दिनुपर्छ।”
कार्यक्रममा डिभाइन सेकन्डरी स्कुलका सात जना SEE विद्यार्थीलाई औपचारिक रूपमा बिदाइ गरिएको थियो। विद्यालयका प्राचार्य के.के. उषाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय पूर्व जनप्रतिनिधि पन्नालाल साह कलवार, जितेन्द्र गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, महासंघ बारा अध्यक्ष रमेश सुवेदी तथा मधेस प्रदेश परिषद् सदस्य श्रीकान्त गुप्तालगायतको सहभागिता रहेको थियो। साथै अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमको सुरुवातमा शिक्षक राधेश्याम चौरसियाले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका संस्थापक अध्यक्ष के.एस. फिगिसनको विशेष उपस्थिति रहेको थियो।
बिदाइ कार्यक्रममा विद्यार्थीहरूलाई सफल भविष्यको कामना गर्दै विभिन्न सुझाव तथा प्रेरणादायी भनाइहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले SEE परीक्षालाई जीवनको महत्वपूर्ण चरणका रूपमा चित्रण गर्दै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेका थिए।
कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै शैक्षिक वातावरणलाई सकारात्मक बनाउने विश्वास व्यक्त गरिएको छ।



