बारा – भदौ – २१ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व अधिकांश पहाडी क्षेत्रमा बढी मनाइने गरेपनि अब मधेस प्रदेशमा तीज पर्ब मनाउनेको संख्यामा वृद्धि हुनथालेको छ । तीज व्रत को अवसरमा मधेस प्रदेशका शिवा मंन्दिरमा पूजा एवं दर्शन गर्ने ब्रतालुहरुको बिहानैदेखि भीड लागेको छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने बर्तालु महिलाको विश्वास छ ।
बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेकी थिइन् ।
अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ । अघिल्लो दिन राति दर खाएर आज तीजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ ।
यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता रहेको ब्रतालुले बताएकीछिन ।
तीजको अवसरमा अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस् भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।
मधेस प्रदेश सहित देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।
तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ ।



