बारा, असार ६ —श्रीकान्त गुप्ता – फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। शुक्रबार आयोजित गाउँसभामा अध्यक्ष अंसारीले आगामी वर्षका लागि कुल रु. ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो।
बजेट सार्वजनिक कार्यक्रममा अध्यक्ष अंसारीले गाउँपालिकाको समावेशी विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना जस्ता प्राथमिक क्षेत्रमा लगानी गरिने स्पष्ट गर्नुभयो। उहाँले चालु खर्च, पुँजीगत खर्च, विशेष परियोजना, तथा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई समुचित रूपमा व्यवस्थापन गर्दै पारदर्शी र उत्तरदायी शासन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै विद्यालय सुधार, विद्यार्थी वृत्ति तथा डिजिटल शिक्षण उपकरणको व्यवस्था गरिने घोषणा गरिएको छ। स्वास्थ्य क्षेत्रमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै सुलभ सेवा दिने व्यवस्था गरिने छ। यस्तै, कृषि क्षेत्रमा कृषकलाई अनुदान, बीउबिजन वितरण तथा सिँचाइ पूर्वाधारको विकासमा बजेट छुट्याइएको छ।
अध्यक्ष अंसारीले सडक, खानेपानी, विद्युत् तथा सफाइ जस्ता आधारभूत पूर्वाधारको विस्तारमा विशेष ध्यान दिइने जानकारी दिनुभयो। गाउँपालिकाका सबै वडामा सन्तुलित विकास हुने गरी योजना छनोट गरिएको र नागरिक सुझावलाई समेत समावेश गरिएको उहाँको भनाइ थियो।
बजेट प्रस्तुति कार्यक्रममा उपाध्यक्ष निलम साह ,प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद तिवारी, लेखा प्रमुख भोला यादव,पालिका सदस्य, वडाध्यक्षहरू वडासदस्यहरु जनप्रतिनिधि, नेता सुशील साह, कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा नागरिकहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहभागीले प्रस्तुत नीति तथा बजेटलाई विकासको दिशामा सकारात्मक पहल भन्दै स्वागत गरेका छन्।
गाउँपालिकाले गत वर्षका योजना र बजेटको समीक्षा गर्दै आगामी वर्षमा प्रभावकारी कार्यान्वयन हुने अपेक्षा गरिएको छ। बजेट कार्यान्वयनमा जनसहभागिता, पारदर्शिता र अनुगमन प्रणालीलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
