छोटी भन्सार सञ्चालन र स्वास्थ्य बीमामा राहत योजना सार्वजनिक
पचरौता (बारा), असार ३- श्रीकान्त गुप्ता – बाराको पचरौता नगरपालिकाको १४औं नगरसभा सोमबार बेनौलीस्थित नगरसभाहलमा सम्पन्न भएको छ। नगरप्रमुख जलन्धर सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा ६५ करोड ३१ लाख ६६ हजार ९५२ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।
सभामा वडा नम्बर ५ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता लक्ष्मी यादवले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिमा आत्मनिर्भरता, महिला सशक्तीकरण र समावेशी विकासलाई प्राथमिकता दिएको छ।
नगरसभामा सबै वडा अध्यक्ष, नगर कार्यपालिका सदस्यहरू तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत प्रशान्त जोशिले सम्पूर्ण कार्यक्रमको सञ्चालन गरेका थिए भने वडा नम्बर ६ का अध्यक्ष मकबुल अन्सारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
नगरप्रमुख सिंहले सबै नगरवासीका लागि राहत हुनेगरी स्वास्थ्य बीमामा विशेष योजना सार्वजनिक गरे। उनका अनुसार अब नगरपालिकाले नागरिकको स्वास्थ्य बीमामा लाग्ने खर्चको ५० प्रतिशत हिस्सा व्यहोर्नेछ। “नागरिकको स्वास्थ्यमा हामीले प्रत्यक्ष राहत दिने उद्देश्यले यो निर्णय लिएका छौं,” उनले भने।
त्यसैगरी नगरप्रमुख सिंहले वडा नम्बर १ मा रहेको छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै त्यसका लागि आवश्यक सडक विस्तार कार्य तत्काल अघि बढाइने जानकारी दिए। “छोटी भन्सार सञ्चालनले व्यापार विस्तार र राजस्व वृद्धिमा टेवा पुग्नेछ,” सिंहले उल्लेख गरे।
सभामा सहभागी जनप्रतिनिधिहरूले प्रस्तुत बजेट र कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले नगरवासीको आवश्यकतालाई सम्बोधन गर्दै बजेट योजनाबद्ध रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए।
स्थानीय सरकारको योजनाबद्ध प्रस्तुति र दीर्घकालीन दृष्टिकोणले पचरौता नगरको समग्र विकासमा आशावादी वातावरण सिर्जना गरेको देखिन्छ।



