जनकपुरधाम, —जेठ – १७ – प्रदेश सरकार जनकपुरधाममा आधुनिक र वातावरणमैत्री विद्युतिय शवदाह गृह निर्माण गर्ने तयारीमा जुटेको छ। उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको अगुवाइमा गंगासागर पोखरीको डिलमा अवस्थित स्वर्गद्वारमा ११ करोड रुपैयाँको लागतमा अत्याधुनिक शवदाह गृह निर्माण गरिने भएको हो।
शुक्रवार मन्त्रालयले सरोकारवाला निकायहरूसँगको छलफलपछि चालू आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मन्त्रालयका सचिव रामकुमार खंगका अनुसार यो साता टेन्डर प्रक्रिया सुरु हुनेछ र दुई वर्षभित्र परियोजना सम्पन्न गरिने लक्ष्य लिइएको छ।
सचिव खंगले बताएअनुसार प्रस्तावित शवदाह गृहमा अढाई तल्ले भवन, दुईवटा शवदाह ट्रली बेड, भृञ्चुरी स्क्रबर, वेट स्क्रबर, धुवाँ निस्कने चिम्नी, अस्थि व्यवस्थापन संरचना लगायतका वातावरणमैत्री पूर्वाधार रहनेछन्।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले यो परियोजनालाई शहरको लागि गौरवको विषयको रूपमा उल्लेख गर्दै, “निर्माणपछि आवश्यक कार्यविधि बनाई स्वर्गद्वारी समितिलाई सञ्चालनको जिम्मा दिइनेछ,” बताए। साथै, शवदाह गृह दिगो रूपमा सञ्चालन गर्न विशेष आर्थिक कोष पनि स्थापना गरिने जानकारी दिए।
परम्परागत दाहसंस्कार विधिमा लाग्ने बढी खर्च, कठिनाइ र वातावरणीय असरलाई दृष्टिगत गर्दै प्रदेश सरकारले यो वैकल्पिक उपाय अघि सारेको हो। विद्युतिय शवदाह गृहमार्फत काठको खपत न्यून हुने, कार्बन उत्सर्जन घट्ने र स्वच्छ वातावरण प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।



