जनकपुरधाम, जेठ —१६ । मधेस प्रदेशमा शीघ्र सञ्चालनमा आउन लागेको ‘रेन’ परियोजनाबारे प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
संयुक्त अधिराज्य (यूके) सरकारको सहयोगमा र पिपुल इन निड तथा डेनचर्च एडसँगको साझेदारीमा ली बर्डले सञ्चालन गर्न लागेको यो परियोजना विक्रम संवत २०८२ देखि २०८७ सम्म सञ्चालन हुने तय गरिएको छ। परियोजना मधेस प्रदेशका पाँच जिल्लाका १४ वटा पालिकामा कार्यान्वयन गरिनेछ। छलफलका क्रममा परियोजनाको उद्देश्य, कार्य क्षेत्र, सम्भावित उपलब्धि तथा साझेदारी निकायहरूको भूमिका सम्बन्धमा विस्तृत जानकारी आदानप्रदान गरिएको थियो।
मुख्यमन्त्री सिंहले परियोजनाले मधेस प्रदेशको दिगो विकास, वातावरणीय अनुकूलन तथा समृद्धि हासिल गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, उनले प्रदेश सरकारले आवश्यक समन्वय तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
छलफलमा वन निर्देशनालय मधेस प्रदेशका निर्देशक जगरनाथ जसवाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, आयोगका सदस्य राजकुमार सिंह तथा समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झालगायतको उपस्थिति रहेको थियो।
उक्त परियोजना विशेष गरी जलवायु परिवर्तन, वन व्यवस्थापन तथा दीगो जीवनशैली प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ। सहभागी अधिकारीहरूका अनुसार परियोजना अन्तर्गत स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक समावेशीता, वातावरणीय शिक्षा र स्रोत व्यवस्थापनमा दीर्घकालीन रणनीति अवलम्बन गरिनेछ।
प्रदेश सरकारले समेत रणनीतिक साझेदारका रूपमा परियोजनालाई सफल बनाउन सहकार्य गर्ने जनाएको छ।



