जनकपुर वैशाख १९ – मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिकामा नव निर्मित १५२ मिटर ढलान सडकको उद्घाटन गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा मन्त्री जैसवालले पकाहाँमैनपुर–५ धोरेस्थित सडकको उद्घाटन गर्दै स्थानीय विकास र जनसुविधाका लागि प्रदेश सरकारले प्राथमिकता दिइरहेको बताएका छन्।
सडक उद्घाटनपछि मन्त्री जैसवालले निर्माण सम्पन्न सडकले स्थानीय बासिन्दाको दैनिकीमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। “यो पक्की सडकले यहाँको जनजीवन सहज बनाउने मात्र होइन, आर्थिक गतिविधिलाई पनि टेवा पुर्याउनेछ,” मन्त्री जैसवालले उद्घाटन कार्यक्रममा भने, “हामी राजनीतिलाई जनताको हक अधिकार सुनिश्चित गर्ने र त्यसको संरक्षण गर्दै समग्र विकासमा जोड दिने माध्यमको रूपमा लिएका छौं।”
उनले प्रदेश सरकारको लक्ष्य नै समाजको आधारभूत आवश्यकता पुरा गर्दै समृद्ध मधेस निर्माण गर्नु रहेको बताए। “विकास निर्माणको गति बढाएर नागरिकको जीवनस्तर उकास्ने हाम्रो अठोट हो,” मन्त्री जैसवालले स्पष्ट पारे।
कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी, पकाहाँमैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया, समाजसेवी प्रदीप जैसवाल, वडा अध्यक्ष विनोद मेहता लगायत स्थानीय नेताहरुको उपस्थिति थियो। उनीहरुले उक्त सडक निर्माणमा स्थानीयको सहभागिता र प्रदेश सरकारको पहलले महत्त्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद व्यक्त गरे।
पक्की ढलान सडक निर्माणपछि धोरेका बासिन्दालाई विद्यालय, बजार तथा स्वास्थ्य सेवा केन्द्रसम्म पुग्न सहज हुने स्थानीयले बताएका छन्। वर्षायाममा हिलो तथा धुलोले हैरानी बेहोर्दै आएका यहाँका नागरिकले अब सुरक्षित र सहज यातायातको अनुभव गर्ने अपेक्षा गरिएको छ।
उक्त सडक निर्माणले ग्रामीण भेगमा पूर्वाधार विस्तार र समावेशी विकासको दिशामा प्रदेश सरकारको प्रतिबद्धता देखिएको स्थानीयले प्रतिक्रिया दिएका छन्।



