जनकपुरधाम, वैशाख १७ – “सक्षम बालिका : समृद्ध मधेश” भन्ने मूल नाराका साथ बुधबारदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ।
बाल विवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजनामा तथा मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको सम्मेलनको उद्घाटन प्रदेश सरकारका समाजकल्याण मन्त्री प्रमोद जयसवालले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालबालिकाको हकअधिकार सुनिश्चित गर्न बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो। उहाँले मधेश प्रदेश सरकारले ‘बालिका संरक्षण ऐन’ ल्याएको जानकारी दिँदै आगामी आर्थिक वर्षदेखि ‘बेटी जिन्दावाद कार्यक्रम’ सञ्चालन हुने घोषणा गर्नुभयो।
मन्त्री जयसवालले मधेशमा व्याप्त बालविवाह, भागी विवाह, दहेज प्रथा र बोक्सी प्रथा जस्ता सामाजिक कुरीतिहरूले प्रदेशको छवि बिग्रिएको उल्लेख गर्दै, ती कुरीतिहरू उन्मूलनमा राज्य र समाज दुवैको साझा पहल आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा सिरहा जिल्लाकी किशोरी गुन्जाकुमारी ठाकुरको अध्यक्षता रहेको थियो भने प्रदेशसभा महिला, बालबालिका तथा जेष्ठ नागरिक समिति संयोजक रूपा यादव, नीति तथा योजना आयोग सदस्य रिना यादव, जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साह लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
उनीहरूले पनि बालबालिकाको अधिकार सुनिश्चित गर्न बनेका नीति र कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।
लाइफ नेपाल, हाम्रो प्रयास, सखी, महिला सचेतना समूह, दलित विकास मञ्च, मुक्ति नेपाल, परिकल्पना नेपाल लगायत संस्थाहरू सह–आयोजक रहेका छन्। सम्मेलनमा मधेश प्रदेशका आठवटै जिल्लाबाट किशोरीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको दौरान ‘इजोत’ नामक नाट्य प्रहसन प्रस्तुत गरिएको थियो जसले बालविवाह, दहेज प्रथा, भागी विवाहजस्ता समस्यामाथि प्रकाश पार्यो।
दुई दिनसम्म चल्ने सम्मेलनको अन्त्य बिहीबार ‘जनकपुरधाम घोषणापत्र’ जारी गर्दै गरिनेछ, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो।
यस्तो सम्मेलनले मधेशमा बालिकाहरूको सशक्तिकरण, हकअधिकार र सामाजिक चेतनामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।



