बारा, वैशाख १२ — सिकेन्द्र साह बाराको सिम्रौनगढ नगरपालिका स्थित इसरा पोखरी छेउमा आयोजित विशेष भेलामा आम जनता पार्टीका नेताहरुले सिम्रौनगढमा भन्सार कार्यालय स्थापनाको माग गर्दै सरकारप्रति कडा आलोचना गरेका छन्।
पार्टीको मधेश प्रदेश अध्यक्ष उमेश कुसवाहाले कार्यक्रमलाई सम्बोधन गर्दै सिम्रौनगढजस्तो महत्वपूर्ण व्यापारिक क्षेत्र अझै पनि भन्सार सुविधाबाट वञ्चित रहेको बताउँदै असन्तोष व्यक्त गरे। “विगतमा विभिन्न पार्टीका सरकार बने, तर कसैले पनि सिम्रौनगढको भन्सार समस्यातर्फ ध्यान दिएन,” उनले भने, “यहाँका जनता चारचक्के सवारी भन्सार गराउन ३४ किमी टाढा वीरगञ्ज वा २४ किमी टाढा गौर जान बाध्य छन्।”
कुसवाहाले मधेश प्रदेश र संघीय सरकारमा सिम्रौनगढकै सांसद तथा नेताहरु हुँदा पनि जनताको पीडा सुन्ने कोही नरहेको आरोप लगाए।
त्यसैगरी, कार्यक्रमका प्रमुख वक्ता तथा पूर्वमन्त्री एवं आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले सिम्रौनगढको विकासप्रति राज्यको उदासीनता र जनतामाथिको प्रशासनिक दमनको कडा आलोचना गरे। “विगतमा कांग्रेस, एमाले र माओवादीको सरकार हुँदा पनि सिम्रौनगढले विकास देख्न पाएन,” उनले भने, “भारतबाट सामान ल्याउँदा यहाँ प्रशासनले छिनाझपटी गर्ने, १० हजारको मालमा २० हजार भन्सार तिर्न बाध्य बनाउने अवस्था छ। तर सरकारले भन्सारको समुचित व्यवस्था गरेको छैन।”
उनले सिधा रूपमा प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र उपराष्ट्रपति रामसहाय यादवप्रति संकेत गर्दै स्थानीय जनप्रतिनिधिहरू मौन बसिरहेको भन्दै तीव्र असन्तोष प्रकट गरे। “अब जाग्ने बेला आएको छ,” साहले चेतावनी दिए।
कार्यक्रममा सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लाल बाबु कुसवाहा, रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिन कुमारी साहसहित स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
भेला समापनसँगै स्थानीयले अब सिम्रौनगढमा स्थायी भन्सार कार्यालय स्थापनाका लागि सशक्त आन्दोलनको चेतावनी समेत दिएका छन्।



