बारा बैशाख ८ । सुवर्ण गाउँपालिकामा विद्यालय भवनको अभावले पठनपाठनमा समस्या भोग्दै आएका विद्यार्थीका लागि नयाँ भवनको शिलान्यास भएको छ ।गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा रहेको श्री ने.रा. माध्यमिक विद्यालयमा नयाँ भवनको शिलान्यास गर्नु भएको छ। शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले गरिएको यो कदमले सम्पूर्ण पालिकावासीमा उत्साहको लहर ल्याएको छ।अध्यक्ष यादवले आफ्नै कर-कमल हातबाट शिलान्यास गर्दै शिक्षा नै समाज विकासको आधार भएको भन्दै भविष्यमा पनि शिक्षा क्षेत्रमा निरन्तर लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।नयाँ भवन निर्माणसँगै विद्यार्थीको सिकाइ क्षमतामा उल्लेखनीय सुधार आउने अध्यक्ष यादवले विश्वास गराइएको छ ।
स्थानीय जनप्रतिनिधिहरूले सामूहिक रूपमा विद्यालय भवन निर्माणले शिक्षाको स्तर वृद्धि गर्नुका साथै विद्यार्थीहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे। विद्यालयका प्रधानाध्यापकले भवनको शिलान्यासपछि उत्साहित हुँदै यो भवनले विद्यार्थीहरूलाई सुरक्षित, सहज र गुणस्तरीय सिकाइको वातावरण दिने बताए।
।
स्थानीय बासिन्दाहरूले पनि पालिकाको यो कदमलाई सराहना गर्दै भविष्यमा यस्ता विकास निर्माणका काम निरन्तर भइरहून् भन्ने आशा व्यक्त गरे।
शिलान्याससँगै भवन निर्माण कार्य छिट्टै सुरु गरिने र गुणस्तरीय निर्माणसहित समयमै सम्पन्न गरिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत सुजित यादवले बताउनु भएको छ ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष झकड प्रसाद यादव,वडा सदस्यहरू, नेपाली कांग्रेसका युवा नेता रामनरेश प्रसाद यादव लगायत स्थानीय समुदायका अगुवा तथा सम्पूर्ण शिक्षक वर्गहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसले निश्चय नै पालिकाको शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धिको संकेत गर्नेछ।



