जनकपुर वैशाख ५ –श्रीकान्त गुप्ता – नेपाल प्रहरी संगठनमा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा हालै भएको बढुवापछि सातै प्रदेश प्रहरी कार्यालय रिक्त भएका छन्। बढुवाका लागि सिफारिस भएका वरिष्ठ प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको स्थान रिक्त हुँदा, अब प्रदेश प्रहरी प्रमुखको लागि डीआईजीहरूबीच प्रतिस्पर्धा सुरु भएको छ।
गृह मन्त्रालयले एआईजी पदमा मधेस प्रदेशका लालमणी आचार्य, बागमतीका कृष्णहरी शर्मा, लुम्बिनीका दानबहादुर कार्की र कोशीका राजन अधिकारीलाई सिफारिस गरेको छ। यसअघि कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको प्रहरी नेतृत्व खाली रहेको थियो। अब सातवटै प्रदेशको प्रहरी नेतृत्व खाली भएपछि योग्य डीआईजीहरूबीच सरुवा र पदस्थापनका लागि चहलपहल बढेको छ।
बढुवाबाट वञ्चित डीआईजीहरू प्रदेश प्रमुख बन्ने प्रमुख दाबेदार मानिएका छन्। तीमध्ये दिनेश आचार्य, ईश्वर कार्की, शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, डम्बर विक, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, गोविन्द थपलिया, अरुण पौडेल र राजेन्द्र भट्ट प्रमुख प्रतिस्पर्धीका रूपमा अघि आएका छन्।
विशेषगरी मधेस र लुम्बिनी प्रदेशमा अधिक ध्यान केन्द्रित भएको छ, जहाँ राजनीतिक र सुरक्षा चुनौतीहरू पनि अन्य प्रदेशभन्दा उच्च मानिन्छ। योग्यताको आधारमा प्रदेश प्रमुखको छनोट गरिने बताइए पनि राजनीतिक प्रभाव समेत निर्णायक हुन सक्ने आँकलन गरिएको छ।
यसरी प्रहरी संगठनमा उच्च तहको बढुवा र सरुवाले नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। बढुवा सिफारिस भएका सबै एआईजीहरूलाई प्रहरी संगठनभित्र र बाहिरबाट बधाई र शुभकामनाहरू प्राप्त भइरहेका छन्।



