महोत्तरी, बैशाख – ३ जनता समाजवादी पार्टी, नेपाल (जसपा) महोत्तरीको प्रथम जिल्ला अधिवेशन आज भव्य रुपमा सुरु भएको छ। अधिवेशनको उद्घाटन जसपाका केन्द्रिय अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले गरेको थियो ।
महोत्तरीको आयोजित अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरु, प्रदेश स्तरीय प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरु, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष यादवले उद्घाटन सत्रमा सम्बोधन गर्दै पार्टीलाई सशक्त बनाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सामाजिक न्याय स्थापनामा अग्रसर हुन आवश्यक रहेको बताए।
उनले मधेस आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै जनताका मुद्दा र हितका लागि संगठनलाई बलियो बनाउनु आजको आवश्यकता रहेको भने यादवले अधिवेशनबाट सक्षम नेतृत्व चयन भई महोत्तरीमा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा जसपा महोत्तरीका जिल्ला संयोजक तथा अधिवेशन आयोजक समितिका अध्यक्षले स्वागत मन्तव्य राख्दै पार्टीप्रति बढ्दो जनसमर्थन र कार्यकर्ताको उत्साहले अधिवेशन सफल हुने विश्वास व्यक्त गरे।
जसपामा संगठनात्मक समीक्षा, आगामी योजना निर्माण, नीतिगत बहस तथा नयाँ नेतृत्व चयन जस्ता महत्वपूर्ण एजेन्डा तय गरिएको छ।
स्थानीयस्तरका प्रतिनिधिहरूले पनि अधिवेशनमा आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्ने छन्। कार्यक्रमका विभिन्न सत्रहरूमा राजनीतिक, सामाजिक र आर्थिक मुद्दामा छलफल गरिने जनाइएको छ।
महोत्तरीमा यस किसिमको जिल्लास्तरीय अधिवेशन पहिलो पटक आयोजना गरिएको हो, जसले पार्टी संगठनलाई गाउँदेखि केन्द्रसम्म थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



