सर्लाही,- बैशाख – ३ । जनमत पार्टीले सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ स्थित ऐतिहासिक नाडीमन तालको किनारमा एक भव्य आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सी.के. राउत प्रमुख अतिथि रूपमा उपस्थित हुनुहुन्थ्यो।
उक्त कार्यक्रमका अवसरमा स्थानीय स्तरबाट सयौँको संख्यामा नागरिकहरूले जनमत पार्टीमा प्रवेश गरे। अध्यक्ष डा. राउतले आमसभालाई सम्बोधन गर्दै जनताको अधिकार, समावेशिता र न्यायसंगत विकासका लागि जनमत पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “देशको समृद्धि केवल भाषणले होइन, व्यवहारमा जनताको सेवा र समस्या समाधानबाट मात्र सम्भव छ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू, मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंह, प्रदेशस्तरीय नेताहरू, स्थानीय अगुवा तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति थियो। वक्ताहरूले चन्द्रनगर क्षेत्रको विकासमा राज्यको बेवास्ता र जनताको पीडा उठाउँदै अबको विकल्प जनमत पार्टी नै भएको बताएका थिए।
नाडीमन तालको मनोरम परिवेशमा आयोजित यो सभा जनसाधारणको बाक्लो उपस्थिति र उत्साहका कारण ऐतिहासिक बन्न पुगेको छ। नयाँ सदस्यहरूले जनमत पार्टीको नीति, दृष्टिकोण र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संगठनलाई अझ बलियो बनाउने अठोट व्यक्त गरे।
कार्यक्रमको व्यवस्थापन चन्द्रनगर गाउँपालिका स्तरीय जनमत पार्टी समितिले गरेको थियो। स्थानीय संस्कृतिको झल्को दिने नाचगान र सांस्कृतिक प्रस्तुतिले सभामा थप रौनकता ल्याएको थियो।
यो आमसभा सर्लाहीमा जनमत पार्टीको बढ्दो प्रभाव र जनआकर्षणको संकेतका रूपमा हेरिएको छ।



