बारा – बैशाख – ३।बाराको बडहरवामा आयोजित नेपाली कांग्रेस क्षेत्र नम्बर–३ को प्रथम क्षेत्रीय सम्मेलनमा पार्टीका महामन्त्री गगन थापाले सत्तासमीकरण नफेरिने स्पष्ट पारेका छन्। उनले वर्तमान सत्ता गठबन्धनलाई नेपाली कांग्रेसले परिवर्तन नगर्ने दृढता व्यक्त गरे।
महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताए। “सरकारको काम कारबाहीको समीक्षा भइरहेको छ, चाँडै शैली परिवर्तन गरिनेछ,” उनले भने। उनले शिक्षकमाथि भइरहेको अन्याय अन्त्य गर्दै कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन सरकारलाई आग्रह गरे।
थापाले संविधानमा केही असन्तुष्टिहरू देखिएको स्वीकार्दै अबको एक वर्षभित्र संविधान संशोधन गरिने पनि जानकारी गराए। यसैबीच, उनले पार्टीको महाधिवेशन तोकिएको समयमा नै हुने आश्वासन कार्यकर्तालाई दिए।
कार्यक्रममा सहमहामन्त्री फरमुल्लाह मंसुरले पार्टी विधान र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै प्रतिगामी तत्वहरू सक्रिय हुन थालेको भन्दै त्यसप्रति सबै सचेत हुनुपर्ने बताए। अर्का सहमहामन्त्री उमाकान्त चौधरीले मधेस नेपाली कांग्रेसको उर्वर भूमि रहेको उल्लेख गर्दै यहाँ पार्टीलाई अझ बलियो बनाउन विशेष योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, वीरेन्द्र सिंह, सहमहामन्त्री जयनारायण यादव, जिल्ला सचिव भैयाराम यादव, क्षेत्रीय सभापति विजयशंकर यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति प्रभात चौरसियाले गरेका थिए भने संचालन क्षेत्रीय सचिव राजेश भण्डारीले गरेका थिए।
सम्मेलनले मधेसमा कांग्रेसको पकड अझ मजबुत बनिरहेको संकेत दिएको छ भने गगन थापाको स्पष्ट सन्देशले सत्ताप्रति पार्टीको अडान प्रष्ट पारेको छ।



