एस पी सिंह
रौतहट, चैत २९ – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको रौतहट शाखा कार्यालय माधवनारायणले आयोजना गरेको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम शुक्रबार सदरमुकाम गौरस्थित साईमन होटलको सभा हलमा सम्पन्न भएको छ।
कार्यक्रममा माधवनारायण नगरपालिका–१ का वडा अध्यक्ष राज कुमार यादवले लघुवित्त संस्थाहरूले महिला सशक्तीकरण र उद्यमशीलता प्रवर्द्धनमा पुर्याएको योगदान सराहनीय रहेको बताए। उनले दिदीबहिनीहरूको आर्थिक उत्थानमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
मधेस प्रदेश प्रमुख रामकिशोर प्रसाद कुशवाहाले लघुवित्तसम्बन्धी नकारात्मक दृष्टिकोणका कारण समाजमा विभिन्न समस्या देखिन थालेको धारणा राखे। उनले कर्जा लिँदा नीति, नियम तथा सेवा प्रणाली बुझेर कारोबार गर्नुपर्नेमा जोड दिए। पछिल्लो समय वित्तीय साक्षरताका कार्यक्रमहरूले ग्राहक सदस्यहरूमा जागरुकता बढेको पनि उनले उल्लेख गरे।
वित्तीय शिक्षा र साक्षरता अभिवृद्धिका लागि सञ्चालित कार्यक्रममा तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख सिताराम महतोले अभिमुखीकरण प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा शाखा कार्यालय अन्तर्गतका उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने चार जना केन्द्र प्रमुखहरूलाई तथा कर्जा लिएर सफल व्यवसाय सञ्चालन गर्ने चार जना व्यवसायिक ग्राहक सदस्यहरूलाई नगद पुरस्कारसहित कदर पत्र प्रदान गरियो।
सम्मानित हुनेहरूमा “मेरो सरुअठा महालक्ष्मी महिला केन्द्र” प्रथम (रु. ३,०००), “मेरो सीतारा महिला केन्द्र” दोस्रो (रु. २,०००), “मेरो माँ जगदम्बा महिला केन्द्र” तेस्रो (रु. १,०००) तथा “मेरो बसतपुर महिला केन्द्र” चौथो (रु. ५००) स्थानमा रहे।
कार्यक्रमको अध्यक्षता केन्द्र नं ४२ का केन्द्र प्रमुख लिलामबर प्रसाद सिंह गनगाईले गरेका थिए भने सञ्चालन र सहजीकरण शाखा प्रबन्धक सिंह गनगाईले गरेका थिए। सयौं सदस्यहरूको सहभागितामा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको थियो।



