वीरगञ्ज, — चैत २९ ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भगवान् महावीरको जीवन र दर्शनबाट प्रेरणा लिँदै अहिंसा र सामाजिक सत्कर्मको मार्ग अवलम्बन गर्न सबैलाई आह्वान गरेका छन्।
जैन श्वेताम्बर तेरापन्थीसभा वीरगञ्जद्वारा आयोजित महावीर जन्मजयन्ती विशेष कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले आधुनिक जीवनशैलीले मानिसलाई भागदौड र प्रतिस्पर्धामा फसाएको उल्लेख गर्दै महावीरका उपदेश आजको समयसँग अझ सान्दर्भिक भएको धारणा राखे।
“अहिंसा र मानवतावाद आजको युगको प्रमुख आवश्यकता हो,” सिंहले भने, “जैन धर्म र संस्कृति नयाँ पिँढीमा हस्तान्तरण गर्न हामी सबै जिम्मेवार छौँ।”
कार्यक्रमको अर्को प्रसङ्गमा उनले पर्सा जिल्लाको सिर्सिया नदीको प्रदूषणतर्फ ध्यान आकर्षित गर्दै स्थानीय र प्रदेश सरकारको सहकार्यमा नदी सफा गर्ने अभियान आवश्यक भएको बताए।
“एक समय यो नदी पवित्र मानिन्थ्यो, जहाँ स्नान गर्दा रोग निको हुने विश्वास थियो,” उनले स्मरण गरे, “तर अहिले प्रदूषणले नदीको अस्तित्व संकटमा परेको छ। अब यसलाई बचाउन हामी सबै जुट्नुपर्छ।”
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जैन धर्मावलम्बीहरूको योगदानको प्रशंसा गर्दै महावीरको मार्ग अनुसरण गर्न सबैलाई आग्रह गरे।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देविसहाय मिनाले महावीरका सत्कर्म र आदर्शलाई दैनिक जीवनमा उतार्नुपर्नेमा जोड दिए।
तेरापन्थी महासभाका उपाध्यक्ष अशोककुमार वैदले महावीरका आदर्शहरू— अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्माचार्यको प्रवर्धन आवश्यक भएको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले भगवान् महावीरका शिक्षाले शान्ति र सहिष्णुता स्थापना गर्न सक्ने विश्वास व्यक्त गरे।



