सिकेन्द्र साह
बारा – चैत २१ – रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर १ निवासी राजकुमार साहले सामाजिक सञ्जालमार्फत हास्यव्यंग्य प्रस्तुत गर्दै आम नागरिकलाई सन्देश दिँदै आएका छन्। उनले मधेश प्रदेश लगायत नेपाल र विदेशमा भोजपुरी कमेडियनको रुपमा आफ्नो पहिचान स्थापित गरेका छन्। फिजी, मोरिसस लगायत भोजपुरि समाजमा उनको लोकप्रियता बढ्दै गएको छ।
राजकुमार साहले प्रारम्भिक जीवनमा अध्ययनपछि चार वर्ष रौतहट जिल्लाको ज्योति डिस्टिलरी, आठ वर्ष डुमरिया डिस्टिलरी तथा १० वर्ष सुदूर पश्चिम कैलालीको धनगढीमा निजी कम्पनीमा काम गरेका थिए। झण्डै २२ वर्ष जागिरे जीवन बिताएपछि उनले आफ्नो रुचि अनुरूप समाजलाई हसाउने उद्देश्यले सामाजिक सञ्जालमार्फत भोजपुरी कमेडियनको यात्रा सुरु गरे।
उनले स्टेज कार्यक्रमहरू नेपालका विभिन्न स्थान तथा भारतको मुजफ्फरपुर, सीतामढ़ी जस्ता सहरमा प्रस्तुत गर्दै आएका छन्। साथै, उनले समाजसेवामा समेत योगदान पुर्याएका छन्। रौतहटका केही प्रहरी चौकीहरूमा आफ्नो कमाइबाट भौतिक संरचना निर्माण गराउनुका साथै मन्दिर, मस्जिद तथा गरिब, दलित, असहाय व्यक्तिहरूलाई भेटी, कपडा र आर्थिक सहायता प्रदान गरेका छन्।
सिम्रौनगढ संस्कृति तथा कमेडियन कार्यक्रममा वडा अध्यक्ष नन्दकिशोर प्रसादसँग भेट गर्दै उनले सामाजिक सञ्जालको सकारात्मक प्रयोगबारे चर्चा गरेका थिए। उनका अनुसार सामाजिक सञ्जालले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ, तर उनले आफ्नो माध्यमबाट हजारौंलाई हसाएर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्। साथै, बम नहर क्षेत्रमा बिजुली बत्ती निर्माणमा समेत उनले योगदान पुर्याएका छन्।
राजकुमार साहले करिब ८० लाखभन्दा बढी मानिसलाई हसाउन सफल भएको दाबी गर्दै, हास्यकमेडियनका रूपमा आफ्नो यात्रालाई निरन्तरता दिने बताएका छन्।



