बारा चैत १८ । नेपाल पत्रकार महासंघ बारा शाखाले सोमबार बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
राजावादी आन्दोलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण र सञ्चारगृह तोडफोड भएको विरोधमा महासंघले ज्ञापनपत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।
महासंघका उपाध्यक्ष पन्नालाल दासको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा पत्रकार सुरेश रजकको मृत्यु, अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी, कान्तिपुर टेलिभिजन तथा हिमालयन टेलिभिजनको तोडफोड लगायतका घटनाबारे गम्भीर आपत्ति जनाइएको छ।
पत्रकार महासंघले दोषीहरूमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ। साथै, एक साताभित्र माग सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत महासंघले दिएको छ।
ज्ञापनपत्र बुझाउने टोलीमा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, भोजराज भट्टराई, गोकुल गोर्साइने, प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, महासंघ बारा शाखाका पूर्व अध्यक्ष कमल उपाध्याय, उपाध्यक्ष प्रियंका दास, सहसचिव दुष्यन्त चौधरी लगायतको उपस्थिति थियो।



