बारा – चैत १५ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रदेश सरकारको योजनामा विचौलियाहरू हावी भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै नगर प्रमुख पौडेलले नेपालको संविधानअनुसार संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको सिद्धान्तलाई बेवास्ता गर्दै प्रदेश सरकार मातहतका निकायहरूले अनधिकृत रूपमा योजनाहरू सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्।
नगर प्रमुख पौडेलका अनुसार विभिन्न व्यक्तिहरू उपभोक्ता समिति गठनका लागि प्रदेश सरकारको पत्र बोकेर उपमहानगरपालिकामा आइरहेका छन्। उपमहानगरलाई औपचारिक रूपमा पत्राचार नगरी तथा कुनै सहकार्य नगरी योजनाका नाममा विचौलियाहरू परिचालित गरिँदा प्रदेश सरकारको नियतमै प्रश्न उठेको उनको दाबी छ।
उनले उपमहानगरपालिकाले १५ लाखभन्दा माथिका सबै योजनाहरू विद्युतीय बोलपत्र प्रणालीमार्फत अघि बढाउँदै सुशासन प्रवद्र्धन गरिरहेको भन्दै प्रदेश सरकारले उपभोक्ता समिति गठनका नाममा विचौलियाहरू पठाउँदा सुशासनमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
हालै प्रदेश सरकारका निकायहरूले १० प्रतिशत कमिसनमा काम भइरहेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला विचौलियामार्फत उपभोक्ता समिति गठनको प्रयास भइरहेको उल्लेख गर्दै नगर प्रमुख पौडेलले यसबारे मुख्यमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।
साथै, उनले उपमहानगरका सबै वडा कार्यालयलाई उपमहानगरपालिकासँग समन्वयबिना कुनै उपभोक्ता समिति गठन नगर्न निर्देशन दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मधेश प्रदेशका संसदीय दलहरू, जिल्ला समन्वय समिति बारा, र जिल्ला प्रशासन कार्यालय बारालाई समेत पत्रको बोधार्थ पठाइएको छ।



