जनकपुरधाम – मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम अघि बढाएको छ। यस योजनाका लागि प्रदेश सरकारले वाणिज्य बैंक र बीमा कम्पनीहरूलाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
शिक्षा विकास निर्देशनालय जनकपुरधामका अनुसार २०७८ माघ १ गतेपछि जन्मिएका र एक वर्षभित्र बीमा प्रक्रियामा सहभागी भएका छोरीहरूलाई २० वर्षको उमेरपछि एकमुष्ट ३ लाख रुपैयाँ प्रदान गरिनेछ।
यस योजनाका लागि बीमा कम्पनी तथा ‘क’ वर्गका वाणिज्य बैंकहरूले १५ दिनभित्र प्रिमियम दर र अन्य शर्तहरू सहितको प्रस्ताव पेश गर्नुपर्नेछ। न्यूनतम प्रिमियम दर र थप सुविधाहरू प्रदान गर्ने सेवाप्रदायकलाई छनोट गरिने निर्देशनालयले जनाएको छ।
स्वीकृत प्रस्ताव अनुसार छोरीको नाममा बैंक खाता खोलिनेछ, जसमा बीमा रकम जम्मा गरिनेछ। २० वर्ष पूरा भएपछि छोरीले सो रकम प्राप्त गर्नेछिन्। प्रारम्भिक सम्झौता दुई वर्षका लागि हुनेछ, जसलाई आवश्यकता अनुसार नवीकरण गर्न सकिनेछ।
मधेश प्रदेश सरकारले यो कार्यक्रमलाई आफ्नो ‘गौरवको योजना’ को रूपमा लिएको छ। प्रदेश सरकारका अनुसार छोरी शिक्षा बीमा कार्यक्रमले बालिका शिक्षामा टेवा पुग्ने तथा भविष्य सुरक्षित गर्ने विश्वास लिएको छ। २० वर्षपछि प्राप्त हुने रकमले शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यक आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।



