बारा – चैत – ८ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्ला निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सहकार्यले आफ्नै पार्टीलाई घाटा पुगेको अहिले प्रमाणित भएको बताएका छन्।
पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हालै सम्पन्न उपनिर्वाचन तथा स्ववियु निर्वाचनका नतिजाले उक्त यथार्थ उजागर गरेको बताए।
उनले एमाले र कांग्रेसले माओवादी केन्द्र अब स्वतन्त्र रूपमा उभिन सक्दैन भन्ने धारणा स्थापित गर्न खोजे पनि हालैका परिणामले त्यो गलत सावित भएको दाबी गरे।
“स्ववियु निर्वाचनका केही नतिजा आउन बाँकी भए पनि विद्यार्थीहरूको चेतना र रुचि कुन दिशामा अघि बढ्दैछ भन्ने कुराको संकेत स्पष्ट देखिएको छ,” प्रचण्डले भने।
उनले केही क्याम्पसहरूमा माओवादीले नयाँ इतिहास रचेको दाबी गर्दै अघिल्ला सहकार्यहरूबाट पार्टीलाई घाटा नै भएको निष्कर्ष निकाले।
“हिजो हामीलाई अरूको सहाराबिना उभिन सक्दैन भन्ने धारणा एमाले र कांग्रेसले बनाएका थिए, तर उपनिर्वाचनमा हामीले आफ्नै खुट्टामा उभिएर नतिजा आफ्नो पक्षमा पार्न सकिने देखायौँ,” उनले थपे।
प्रचण्डले आगामी दिनमा माओवादी केन्द्र अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गर्दै स्ववियु निर्वाचनका परिणामहरू पार्टीका लागि सकारात्मक संकेत बनेको उल्लेख गरे।



