बारा – फागुन २६ । श्रीकान्त गुप्ता – बाराको फेटा गाउँपालिकामा मुख्य प्रवेशद्वारको रूपमा गेट निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न भएपछि गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी र उपाध्यक्ष नीलम साहले संयुक्त रूपमा गेटको उद्घाटन गरेका छन्।
गाउँपालिकाको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको यो गेट आधुनिक डिजाइनमा तयार पारिएको छ। उद्घाटन समारोहमा अध्यक्ष अंसारीले गेट गाउँपालिकाको गौरवको प्रतीक भएको बताए। उनले भने, “यस गेटले हाम्रो गाउँपालिकाको पहिचान उजागर गर्नुका साथै आगन्तुकलाई स्वागत गर्ने महत्वपूर्ण माध्यम बन्नेछ।”
उपाध्यक्ष नीलम साहले पनि गेट निर्माणको आवश्यकता र यसले गाउँपालिकाको विकासमा पुर्याउने योगदानबारे प्रकाश पारिन्। उनले भनिन्, “गेट निर्माणसँगै हामी अन्य पूर्वाधार विकासलाई पनि प्राथमिकता दिनेछौं।”
गेट निर्माणमा स्थानीय सरकारको बजेट तथा विभिन्न सरोकारवालाको सहयोग रहेको बताइएको छ। उद्घाटन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरूले पनि गेट निर्माणले गाउँपालिकाको सौन्दर्य वृद्धि गर्नुका साथै पहिचानलाई मजबुत बनाएको प्रतिक्रिया दिएका छन्। गाउँपालिकाले आगामी दिनमा अन्य भौतिक पूर्वाधार विकासका कार्यक्रमहरू अघि बढाउने योजना रहेको बताएको छ।



