बारा, फागुन २१ – जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो एक महिनाको कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा विभिन्न अपराध अनुसन्धान तथा कारवाहीका क्रममा ५२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १३ लाख ८६ हजार ८ सय रुपैयाँ जरिवाना असुल गरिएको छ भने, १२ वर्ष ७ महिना १४ दिन कैद सजाय सुनाइएको छ।
भन्सार तथा राजस्व संकलनतर्फ ३ करोड ५८ लाख ४० हजार ६५९ रुपैयाँ संकलन भएको छ। सोही अवधिमा ४३ नयाँ मुद्दा दर्ता भएका छन्, जसमा कर्तव्य ज्यान, सवारी ज्यान, लागुऔषध, साइबर अपराध र अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख छन्। कारवाहीका क्रममा ८४ जना पक्राउ परेका छन्, जसमा ३ जना भारतीय पुरुष र ५ जना नेपाली महिला छन्।
लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ३२०.३०९ केजी गाँजा, २९.४५१ केजी अफिम, र १७०.४ मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ। यो मुद्दामा २४ जना पक्राउ परेका छन्, जसमा २२ नेपाली पुरुष, २ नेपाली महिला, र ४ भारतीय पुरुष छन्। त्यस्तै, स्रोत नखुलेको ३ लाख २ हजार ५६५ रुपैयाँ हुण्डी रकमसहित १ भारतीय पुरुष पक्राउ परेका छन्।
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा हराएका १३ महिलाको उजुरी परेकोमा ४ जना फेला पारिएको छ। १८ जना बालबालिका हराएको उजुरी परेकोमा ७ जना फेला पारिएका छन्। घरेलु हिंसासम्बन्धी ७७ उजुरी दर्ता हुँदा ३५ वटा फछ्र्यौट भएका छन्।
सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत साइबर अपराध जनचेतना, सवारी दुर्घटना न्यूनीकरण, महिला हिंसा न्यूनीकरण गरी १०० वटा कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयहरूमा १४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन भई १ हजार २१० जना लाभान्वित भएका छन्।
ट्राफिक व्यवस्थापनतर्फ माघ महिनामा १९ लाख ८५ हजार ५ सय रुपैयाँ र फागुन महिनामा १० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। दुई महिनामा ३,६२८ जना सवारी चालकलाई कारवाही गरिएको छ।
त्यस्तै, प्रहरीले १ लाख ८१ हजार मूल्य बराबरको गाँजा बोट नष्ट गरेको छ भने २० हजार रुपैयाँ मूल्य बराबरको अफिम खेती फडानी गरेको छ। अवैध मदिरा नियन्त्रण अन्तर्गत १२ वटा भट्टी नष्ट गर्नुका साथै ३,२५५ लिटर तयारी मदिरा र ८,३०० लिटर कच्चा मदिरा नष्ट गरिएको छ।
वन तस्करी नियन्त्रण अन्तर्गत ९० हजार रुपैयाँ बराबरको काठ बरामद भएको छ। हराएका १३ वटा मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ।
त्यस्तै, प्रहरीले ३३ वटा कुखुरा (मूल्य २९,७०० रुपैयाँ), १,२०० केजी ब्रोइलर कुखुरा (मूल्य २.५० लाख रुपैयाँ), र २०० वटा चल्ला (मूल्य १.५० लाख रुपैयाँ) बरामद गरेको छ।



