धनुषा – फागुन १५ । धनुषाको मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोलकी २४ वर्षीया अनिता कुमारी यादव आफ्नै प्रेमी शाहिद अन्सारीको हत्या आरोपमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीका आधारमा अनितालाई पक्राउ गरेको जानकारी दिएको छ।
गत पुस ४ गते मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनी अन्सारीको शव फेला परेको थियो। उनको निधार तथा घाँटी रेटी बोरामा बाँधिएको अवस्थामा शव भेटिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा अनिता र अन्सारीबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। अन्सारी कतारमा रहँदा अनितालाई बेलाबेला पैसा पठाउने गरेको समेत पत्ता लागेको छ।
अनिताले अन्सारीलाई आफ्नी श्रीमती बिरामी रहेको भन्दै नेपाल बोलाएकी थिइन्। मंसिर २७ गते उनले अन्सारीलाई आफ्नै घरमा बोलाएर श्रीमान् राजकिशोर यादवसँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्या लगत्तै अनिताका श्रीमान् राजकिशोर साउदी फर्किएका थिए। उनलाई नेपाल फर्काउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



