ढल्केबर, माघ २९ – धनुषाको धनुषाधामस्थित प्रसिद्ध धनुष मन्दिरमा पहिलो पटक दान पेटिका राखिएपछि पुजारी असन्तुष्ट बनेका छन्।
गत शनिबार मेला व्यवस्थापन समितिले मन्दिरको विकास र धार्मिक कार्यका लागि स्रोत सङ्कलन गर्ने उद्देश्यले दान पेटिका स्थापना गरेको थियो। नगर प्रमुख बालेश्वर मण्डलले पाँच हजार ५१ रुपैयाँ राख्दै औपचारिक सुरुवात गरेका थिए।
तर, दान पेटिका राखिएको भोलिपल्टदेखि नै मन्दिरका पुजारी भरतदास मन्दिरमा नआउने भएको स्थानीयले बताएका छन्। समितिका अध्यक्ष सुनिल यादवका अनुसार दानबाट संकलित रकमबाट पुजारीलाई उचित खर्च दिने सहमति भए पनि उनी किन अनुपस्थित छन् भन्ने स्पष्ट छैन।
यसअघि दर्शनार्थीले चढाएको भेटी पुजारीले व्यक्तिगत रूपमा लिने गर्थे, तर अब दान पेटिकामा संकलन हुने भएपछि आम्दानी गुम्ने डरले पुजारी असन्तुष्ट भएको हुनसक्ने स्थानीयको अनुमान छ।
तर पुजारी दासले दान पेटिका राख्नुमा असन्तुष्टि नभएको दाबी गर्दै भने, “दान पेटिका राख्ने तरिका गलत भयो। पहिले छलफल हुनुपर्थ्यो। मन्दिर व्यवस्थित होस् भन्ने मेरो चाहना छ।”
नगर प्रमुख मण्डलले भने दान पेटिकाबाट मन्दिरको विकासका लागि महत्त्वपूर्ण स्रोत जुट्ने बताउँदै केही दिनभित्र बृहत् भेला आयोजना गरी दीर्घकालीन समाधान खोजिने जानकारी दिएका छन्।
धनुष मन्दिरलाई व्यवस्थित बनाउन ट्रस्ट वा व्यवस्थापन समिति गठन गर्नुपर्ने सुझाव स्थानीयले दिएका छन्। नगरपालिकाले मन्दिर क्षेत्रलाई पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले थप संरचना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइरहेको छ।



