पर्सा असार । भारतको महावाणिज्य दूतावास, वीरगञ्जले प्रतिष्ठित शंकराचार्य गेटमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाएको छ। भारत र नेपालबीचको गहिरो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धको प्रतीक मानिने उक्त स्थलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल तथा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी सहभागी हुनुभएको थियो।
यस अवसरमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, स्थानीय उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधि, नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति (पर्सा र बारा), प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा विभिन्न सरकारी निकायका अधिकारीहरू सहित सर्वसाधारण नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको विशेष आकर्षण योग विद्यार्थीहरूले प्रस्तुत गरेको उन्नत योग आसन प्रदर्शन रह्यो। उनीहरूले योगमार्फत अनुशासन, लचकता तथा शारीरिक मानसिक सन्तुलनको उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त प्रस्तुतिलाई उपस्थित अतिथि तथा सहभागीहरूले उच्च प्रशंसा गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूतले योगलाई भारतले विश्वलाई दिएको अमूल्य उपहारका रूपमा व्याख्या गर्दै यसको विश्वव्यापी महत्वबारे प्रकाश पार्नुभयो। उहाँले योगले शारीरिक स्वास्थ्य, मानसिक स्पष्टता तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै योगले सीमाना नाघेर नेपाल–भारत मित्रतालाई अझ सुदृढ बनाउने सेतुका रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्वसन्ध्यादेखि निरन्तर योगसम्बन्धी कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले जनस्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक र जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभयो।
मध्यरातिको वर्षाका बाबजुद पनि ठूलो संख्यामा योगप्रेमीहरू बिहानै कार्यक्रममा सहभागी भएका थिए। स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमले सीमापार एकता, सहकार्य र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगको प्रभावकारी भूमिकालाई पुनः स्थापित गरेको आयोजकले जनाएको छ।
भारतको महावाणिज्य दूतावास, वीरगञ्जले अन्तर्राष्ट्रिय योग दिवस २०२६ अन्तर्गत योगका फाइदाबारे जनचेतना अभिवृद्धि गर्न तथा नेपाल–भारत मित्रतालाई थप सुदृढ बनाउन विभिन्न योग कार्यक्रमहरूको श्रृंखला सञ्चालन गरेको थियो। शंकराचार्य गेटमा आयोजित मुख्य समारोहसँगै ती कार्यक्रमहरूको सफल समापन भएको दूतावासले जनाएको छ।












