बारा आसर ९ । परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले “सुन्दर, समुन्नत र समृद्ध परवानीपुर” निर्माणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ।
गाउँपालिका उपाध्यक्ष सुगान्ती देवी कनैयाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले गाउँसभामा पेश गरेका थिए। गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले गरेका थिए।
आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा दिगो विकास, गुणस्तरीय भौतिक पूर्वाधार, कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरण, फोहोरमैला व्यवस्थापन र योजनाबद्ध शहरी विकासलाई विशेष प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै नागरिकमैत्री विकासका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
नीति तथा कार्यक्रममा वर्तमान विश्व आर्थिक मन्दीको प्रभाव नेपालमा समेत परेको उल्लेख गर्दै संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमा कमी आउन सक्ने चुनौती औंल्याइएको छ। यसका बाबजुद स्थानीय विकासलाई निरन्तरता दिन स्रोत व्यवस्थापन र प्रभावकारी खर्च प्रणाली अपनाइने गाउँपालिकाले जनाएको छ।
युवाशक्ति रोजगारीका लागि विदेशिन बाध्य भइरहेको अवस्थालाई चुनौतीका रूपमा लिँदै गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ। कृषि, उद्यमशीलता तथा सीप विकाससँग सम्बन्धित कार्यक्रममार्फत उत्पादन र रोजगार दुवै बढाउने लक्ष्य राखिएको छ।
सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन विद्युतीय सुशासन प्रणाली विस्तार गरिने, कर्मचारी तथा संस्थागत क्षमता अभिवृद्धि गरिने र पूँजीगत खर्चलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रबीच सहकार्य बढाउँदै स्थानीय आर्थिक विकासलाई गति दिने योजना पनि अघि सारिएको छ।
कृषि उत्पादन वृद्धि, स्वच्छ तथा सुरक्षित बस्ती निर्माण, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई समेत नीति तथा कार्यक्रमको महत्वपूर्ण आधार बनाइएको छ। नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी बनाइने गाउँपालिकाको भनाइ छ।
यसैबीच गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न सडक स्तरोन्नति तथा अधुरा नाला निर्माण कार्य सम्पन्न गरी स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा स्थानीय स्रोत परिचालनमार्फत आगामी वर्षको बजेट व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।












