सर्लाही, फागुन २४ । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा. कमलेश्वर सिन्हामाथि अज्ञात समूहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। आइतबार दिउँसो भएको उक्त घटनापछि स्थानीय राजनीतिक वृत्तमा तनावको अवस्था सिर्जना भएको छ।
स्थानीय स्रोतका अनुसार बलरा नगरपालिका–४ मा रहेको एक स्थानीय बाटोमा आइतबार दिउँसो करिब १२ः१० बजे डा. सिन्हामाथि आक्रमण भएको हो। कांग्रेसका स्थानीय नेता नवीन कुशहवाका अनुसार डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा सवार रहेका बेला केही व्यक्तिहरूको समूहले गाडीमाथि आक्रमण गरेको थियो। आक्रमणकारीहरूले गाडीलाई लक्षित गर्दै ढुंगा प्रहार तथा तोडफोड गरेको बताइएको छ।
घटनामा डा. सिन्हा घाइते भएको र उनलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको कांग्रेसले जनाएको छ। उनका छोरा र नाति भने सामान्य अवस्थामा रहेको बताइएको छ।
यस घटनापछि नेपाली कांग्रेसले कडा आपत्ति जनाउँदै आक्रमणको दोष सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहका समर्थकहरूले आक्रमण गरेको छ। कांग्रेस सर्लाही–४ ले विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोधका कारण आफ्ना नेतामाथि आक्रमण भएको आरोप लगाएको छ र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
तर अमरेश सिंहले भने हाम्रो कार्यकर्ता आक्रमण नगरेको भन्दै निष्पक्ष छानबिन गर्नु आवस्यकता रहेको बताए
यद्यपि प्रहरीले भने घटनाबारे सञ्चारमाध्यममा समाचार आएको भए पनि औपचारिक रूपमा उजुरी वा विस्तृत जानकारी नआएको जनाएको छ। प्रहरीले घटनाबारे थप बुझ्ने र आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।
स्थानीय स्तरमा भने उक्त घटनाले राजनीतिक वातावरण थप तातिएको छ। दलहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ भने सुरक्षा निकायले अवस्था सामान्य राख्न आवश्यक निगरानी बढाएको जनाएको छ।



