काठमाडौं — पुस २४ ।बलिउडका चर्चित अभिनेता सञ्जय दत्त काठमाडौं आइपुगेका छन्। बिहीबार साँझ काठमाडौं अवतरण गरेका दत्त केशरमहलस्थित होटल बाराहीमा सञ्चालनमा आएको ‘बादशाह क्यासिनो’को उद्घाटनका लागि नेपाल आएका हुन्। उनका अनुसार क्यासिनो उद्घाटन कार्यक्रम आजै राति सम्पन्न हुनेछ भने उनी शुक्रबार बिहान ११:४५ बजे भारत फर्किने कार्यक्रम तय भएको छ।
बलिउडका दिग्गज अभिनेता सुनिल दत्त र अभिनेत्री नरगिसका छोरा सञ्जय दत्त आफ्नो समयका स्टाइलिस र लोकप्रिय नायकका रूपमा चिनिन्छन्। लामो समयदेखि हिन्दी फिल्म उद्योगमा सक्रिय रहेका दत्त पछिल्ला वर्षहरूमा दक्षिण भारतीय फिल्म उद्योगमा समेत उत्तिकै चर्चित बन्दै गएका छन्। ‘केजिएफ–२’ मा उनको सशक्त अभिनयपछि साउथ फिल्ममा उनको माग उल्लेखनीय रूपमा बढेको बताइन्छ।
यसैबीच, प्रभास अभिनीत आगामी तेलुगु हरर–कमेडी फिल्म ‘द राजा साब’ मा सञ्जय दत्तको भूमिकालाई लिएर फिल्मवृत्तमा चर्चा चुलिएको छ। सार्वजनिक भएको टिजरमा उनी दुई फरक अवतारमा देखिएका छन्, जसले दर्शकको जिज्ञासा थप बढाएको छ। दत्तको फरक शैली र गम्भीर अभिनयले फिल्मलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।
सञ्जय दत्त व्यक्तिगत जीवनका कारण पनि समय–समयमा चर्चामा रहँदै आएका छन्। केही वर्षअघि उनी क्यान्सरसँग जुध्न बाध्य भएका थिए। २०७७ सालको पुस महिनातिर उनले क्यान्सरसँगको लडाइँ जितेको खबर सार्वजनिक गर्दै आफू पूर्ण रूपमा स्वास्थ्य लाभको अवस्थामा पुगेको जानकारी दिएका थिए। त्यसयता उनी पुनः सक्रिय रूपमा फिल्म तथा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन्।
क्यासिनो उद्घाटनका लागि नेपाल आएका दत्तको छोटो बसाइ भए पनि उनको आगमनले राजधानीमा मनोरञ्जन क्षेत्रप्रति चासो बढाएको छ। बलिउडका चर्चित अनुहारलाई नजिकबाट देख्न पाउँदा उनका प्रशंसकहरू उत्साहित देखिएका छन्।
