बारा —असार – २१ – श्रीकान्त गुप्ता – बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको नेतृत्वमा गाउँपालिकाभरिका घरपरिवारलाई धुवाँमुक्त बनाउने उद्देश्यले विद्युतीय चुलो वितरण सुरु गरिएको छ।
गाउँपालिकाका हरेक वडामा खाना पकाउने इलेक्ट्रोनिक चुलो वितरण कार्य तीव्र गतिमा भइरहेको छ। यसअघि अध्यक्ष जयसवालकै पहलमा सबै वडामा ग्यास चुलो वितरण गरेर बारागढी गाउँपालिकालाई धुवाँमुक्त गाउँपालिका घोषणा गरिएको थियो। अब भने त्यसलाई अझ प्रभावकारी र दीगो बनाउँदै विद्युतीय चुलो वितरणको काम थालिएको हो।अध्यक्ष जयसवालका अनुसार यो योजना विशेषगरी ग्रामीण महिलाहरूको स्वास्थ्य सुरक्षासँग जोडिएको छ। “दाउरा बालेर खाना पकाउँदा हुने धुवाँले महिलाहरूमा सास फेर्ने समस्या, आँखाको रोगजस्ता असर देखिन्थ्यो। त्यसैले ग्यास चुलोपछि अब विद्युतीय चुलो पनि वितरण गरिरहेको बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले बताउनु भएको छ ।
गाउँपालिकाको बजेटमार्फत सञ्चालन भइरहेको यस कार्यक्रममा प्रतेक वडाका सयौँ परिवारलाई प्राथमिकताका आधारमा चुलो वितरण गरिएको छ। विशेषगरी विपन्न, एकल महिला, अपांगता भएका व्यक्तिहरू र दलित समुदायलाई पहिलो चरणमा समेटिएको जनाइएको छ।यस योजनालाई ऊर्जा संरक्षण, वातावरणीय दृष्टिकोण र सामाजिक समावेशिताको रूपमा हेरेका छौँ। विद्युतीय चुलोले किचनलाई सफा, सुरक्षित र आधुनिक बनाउनेछ। साथै दाउरा किन्नुपर्ने खर्च पनि घट्नेछ।स्थानीय सर्वसाधारणले यो कार्यक्रमप्रति उत्साह व्यक्त गरेका छन्। स्थानीयवासीले भने पहिले दाउरा खोज्न वनजंगल जानुपर्थ्यो। अहिले ग्यास थियो, अब बिजुलीको चुलो पनि पाइयो। धेरै राहत भएको स्थानीयले बताएको छ।
बारागढी गाउँपालिकाले आगामी दिनमा घरघरमा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै सौर्य ऊर्जा प्रवर्द्धन गर्ने योजना पनि बनाइरहेको बताइएको छ। अध्यक्ष जयसवालले धुवाँरहित, वातावरणमैत्री र स्मार्ट बारागढी बनाउने अभियान निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।



