बारा – असार ३ । बाराको प्रसौनी गाउँपालिकाको १७ औं गाउँसभा सोमबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड १ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।
सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष बिनोद जैसवारले गरेका थिए भने उपाध्यक्ष किरण देबी साहले बजेट प्रस्तुत गरेका थिए । वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सभामा स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिमा आधुनिकीकरण, महिला सशक्तीकरण, वातावरण संरक्षण र युवामुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताइएको छ।
गाउँपालिकाले विगत वर्षका कार्यक्रमहरू मूल्याङ्कन गर्दै उपलब्धिलाई संस्थागत र चुनौतीहरूलाई समाधान गर्ने दृष्टिकोणमा यो वर्षको योजना बनाइएको अध्यक्षले बताए। उनले चालु आर्थिक वर्षमा बजेटको पारदर्शी र प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे।
यस वर्षको गाउँसभा विशेष गरी कृषि, रोजगारी, साना पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन र सूचना प्रविधिको प्रयोगमा केन्द्रित रहने जानकारी दिइएको छ। साथै, प्रत्येक वडाका आवश्यकताअनुसार बजेटको वितरण तथा कार्यक्रम कार्यान्वयन हुने गरी योजना बनाइएको छ।
सभा अन्त्यमा जनप्रतिनिधिहरूले पारस्परिक छलफल गर्दै प्रस्तुत नीति तथा कार्यक्रममाथि सुझावहरू दिएका थिए। सभामा स्थानीयवासीको सहभागिता र चासो उल्लेखनीय रहेको आयोजकले जनाएको छ।
यसरी, प्रसौनी गाउँपालिकाको १७औं गाउँसभा सफलतापूर्वक सम्पन्न हुँदै आगामी वर्षको विकास र समृद्धिको मार्गचित्र कोर्ने प्रयास भएको छ।



