सिकेन्द्र साह
बारा,- बैशाख १५ । गए राति आएको भीषण हावाहुरी र असिनापातले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका र वरिपरिका पालिकामा ठूलो क्षति पुर्याएको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ स्थित झवानी टोलमा निरजन राम, मिना देवी राम, लाइचि देवी राम र सन्दीप कुशवाहा लगायतका घरको छाना उडाएको छ भने भर्खरै निर्माण सम्पन्न भएका इट्टाका घरसमेत भत्किएका छन्।
यसैबीच, सिम्रौनगढ नगरपालिका वडा नम्बर ४, गंगानगर नहर रोडस्थित किराना पसल र एलईडी तथा ल्यापटप पसलमा समेत छाना उड्दा पानी पस्न पुगेको र लाखौं बराबरको क्षति भएको पीडित छबिलाल यादवले जानकारी दिनुभयो।
त्यस्तै, पचरौता नगरपालिका वडा नम्बर ४ र ५ साथै आदर्श कोतवाल गाउँपालिकामा समेत हावाहुरीका कारण व्यापक क्षति पुगेको छ। हावाहुरीसँगै परेको असिनाले खेतीयोग्य भूमिमा लगाइएको मकैबाली र तरकारीमा पनि ठूलो क्षति पुर्याएको छ। किसान महानन्द पण्डितले असिनाले खेती र खानेलागि तयार तरकारीबालीमा समेत गम्भीर असर गरेको बताउनुभयो।
पीडित क्षेत्रको क्षतिको विवरण संकलन तथा उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाइको कमान्डमा खटिएको टोलीले बिहानैदेखि सक्रियतापूर्वक काम गरिरहेको जानकारी प्रहरीले दिएको छ।



