बारा चैत २२ ।बाराको महागढीमाई नगरपालिकाले आयोजना गरेको एसईई परीक्षार्थीहरूका लागि उच्च शिक्षा तथा करियर मार्गदर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आगामी शैक्षिक यात्रा तय गर्न लागेका विद्यार्थीहरूलाई आवश्यक प्रेरणा र जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो।
नगरपालिकाको पहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न शैक्षिक क्षेत्रका विज्ञ व्यक्तिहरूले उच्च शिक्षा, करियर योजना, मानसिक सशक्तिकरण र जीवनदर्शनका विषयमा विद्यार्थीहरूलाई मार्गदर्शन गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई सही दिशा रोज्न प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले कार्यक्रमका प्रमुख अतिथि रहेका थिए। उनले आफ्ना भनाइमा विद्यार्थीहरूलाई कडा मेहनत, स्पष्ट लक्ष्य र सकारात्मक सोचमार्फत आफ्नो भविष्य निर्माण गर्न सुझाव दिए। उनले भने, “हामीले आजको विद्यार्थीलाई सही मार्ग देखाउन सकेमा भोलिको समृद्ध राष्ट्र निर्माण सम्भव छ।”
कार्यक्रममा एसईई दिइरहेका करिब पाँच सयभन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए। सहभागीहरूमध्ये धेरैले यस्तो प्रकारको मार्गदर्शन कार्यक्रम पहिलो पटक भोगेको भन्दै खुसी व्यक्त गरे। एक जना छात्राले भनिन्, “हामीलाई उच्च शिक्षामा के-कसरी अघि बढ्ने भन्ने धेरै कुरा थाहा पायौं, जुन हाम्रो लागि निकै उपयोगी हुने छ।”
कार्यक्रमको समापनमा आयोजक टोलीले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सहभागीहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाले कार्यक्रमलाई सफल बनाएको आयोजकहरूले बताएका छन्।
यस कार्यक्रमले विद्यार्थीहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
