जनकपुरधाम, चैत २२ ।मधेश प्रदेशसभामा पछिल्ला केही समयदेखि देखिएको गतिरोध अन्त्य गर्न दलहरु सहमत भएका छन् । आज बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले योजना चिठीको अनधिकृत वितरणसम्बन्धी विवाद समाधान गर्न सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्न र सम्बन्धित मन्त्रीहरुमार्फत सदनमा जवाफ दिने सहमति जनाएको छ ।
बैठकपछि सभामुख रामचन्द्र मण्डलले चैत २७ गते बस्ने प्रदेशसभा बैठकमा मन्त्रीहरुले योजना चिठी बिक्री वितरणबारे जवाफ दिने र छानबिन समिति गठन गरिने निर्णय भएको जानकारी दिए ।
गतिरोध अन्त्य भएसँगै अब चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
मुख्य विपक्षी दल जसपा नेपाल र नेकपा माओवादी केन्द्रले योजनाको चिठी अनधिकृत रुपमा वितरण भएको र कमिसनमा बेचिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान राख्दै आएका थिए । त्यसैका कारण सदन गत केही समयदेखि अवरुद्ध रहेको थियो ।
यसअघि दुईपटक सर्वदलीय बैठक प्रयास भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा अडिई रहँदा कुनै निष्कर्ष निस्कन सकेको थिएन । तर आजको बैठकले सहमतिको बाटो खोल्दै प्रदेशसभाको काम कारबाही अगाडि बढाउने बाटो खुलाएको छ ।



