एस पि सिंह
रौतहट, चैत्र १८ – पर्यटन विकास कार्यालय गौर रौतहटका कार्यालय प्रमुख संञ्जय मिश्रा लामो समयदेखि कार्यालयमा अनुपस्थित भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। मिश्रा मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन भएका कारण कार्यालयका विभिन्न विकास निर्माणसम्बन्धी कार्यहरू ठप्प भएका छन्।
करिब दुई हप्तादेखि कार्यालय प्रमुख अनुपस्थित भएपछि सेवाग्राहीहरूले कामकाज प्रभावित भएको गुनासो गरिरहेका छन्। मिश्राको अनुपस्थितिका कारण विभिन्न विकास योजनाको टेण्डर प्रक्रिया समेत रोकिएको छ भने अन्य विकास कार्यहरू अघि बढ्न नसकेको सेवाग्राहीहरूको भनाइ छ।
स्रोतका अनुसार मिश्राले कार्यालयमा उपस्थित नभई बाहिरै बसेर कमिसन लिने र योजनाहरूको सम्झौता गर्ने गरेको आरोप लागेको छ। उनले अफिसकै नाममा छुट्टै दर्ता चलानी रजिष्टर सञ्चालन गरी बाहिरबाटै सम्झौता गर्ने, योजनाका कार्यादेश दिने, तथा कमिसन लिएर चिठ्ठी बिक्री गर्ने गरेको आरोप सेवाग्राहीहरूले लगाएका छन्।
यस विषयमा कार्यालय प्रमुख संञ्जय मिश्रासँग बुझ्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको पाइएको छ। कार्यालय प्रमुखको अनुपस्थितिका कारण सेवाग्राहीहरू थप सास्ती भोग्न बाध्य भएका छन्।



