सिमरा, चैत –१० – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा बजेट संशोधनका लागि आयोजित हिउँदे नगरसभाको बैठक शनिबार सम्पन्न भएको छ। नगर सभा सञ्चालन नियमावली, २०७५ को नियम १६ (२) अनुसार एघारौँ नगरसभाले चालु आर्थिक वर्ष २०८१/८२ को संशोधित बजेट पारित गरेको हो।
नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको संशोधित बजेटअनुसार आन्तरिक आयतर्फ १० करोड ३७ हजार, संघ र प्रदेश समानीकरण अनुदानतर्फ १९ करोड २३ लाख ७५ हजार, राजस्व बाँडफाँडतर्फ १४ करोड ४७ लाख ९३ हजार, सशर्त अनुदानतर्फ ४० करोड ४४ लाख ७९ हजार, तथा संघीय सम्पूरक अनुदानतर्फ ७ करोड ३० लाख गरी कुल आम्दानी ९१ करोड ८३ लाख ४७ हजार रूपैयाँ रहेको छ।
संशोधित बजेटमा कुल बजेट परिवर्तन नगरिए पनि वडाहरूको कुल सिलिङ १२ करोड १४ लाख ६ हजारबाट बढाएर २७ करोड पुर्याइएको छ। प्रत्येक वडाका लागि न्यूनतम ५६ लाख २५ हजार तोकिएको छ भने जनसंख्या, भुगोल, भौतिक पूर्वाधार विकास र राजस्व संकलनलाई मुख्य सूचकका रूपमा अपनाइएको छ। बजेट वितरणमा जनसंख्यालाई ३०%, भुगोललाई २०%, भौतिक पूर्वाधारलाई २०% र राजस्व संकलनलाई ३०% भार तोकिएको छ।
नगर प्रमुख राजन पौडेलको सभाध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं, नगरसभा सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



